Friday, 25, September, 2020 info@saipalnews.com

युवा विदेशिएर मुलुक समृद्ध हुँदैन:अध्यक्ष थापा

पुस २० कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवा शक्ति विदेशिएर मुलुक समृद्ध हुन नसक्ने बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा आज मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुलुकमा बेरोजगारी समस्या बढ्दै गएकाले सामान्य रोजगारीका लागि पनि युवापिँढी बाहिरिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

“झण्डै ५० प्रतिशत युवा जमात बेरोजगारी समस्याले मुलुक बाहिर छ ।” थापाले भन्नुभयो, “क्रियाशील जनशक्ति बाहिरिएर समृद्ध नेपाल बन्न सक्दैन ।”उहाँले सरकारले संवैधानिक र कूटनीतिक निकायलाई नियन्त्रण गर्न खोजेको आरोपसमेत लगाउनुभयो । मुलुकमा ठूला भ्रष्टाचार काण्ड सार्वजनिक हुँदा पनि सरकारको ध्यान नजाँदा भ्रष्टाचारीलाई प्रोत्साहन मिलेको धारणा राख्नुभयो । “दल, ठूला व्यापारी र कर्मचारीको मिलेमतोमा ठूला भ्रष्टाचार हुँदैछन्”, उहाँले भन्नुभयो, “प्रतिपक्षी दल पनि यसबाट अछुतो छैन ।
रासस