Tuesday, 01, December, 2020 info@saipalnews.com

दाजुको कुटाइबाट भाइको मृत्यु

पुस २१ इलाम । सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ । दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला पर्नुभएको छ । आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो ।

दाजुले काठको पिरा प्रहारपछि घाइते हुनुभएका हर्कबहादुरलाई गाउँमै सामान्य उपचारपछि उहाँका छोराले घरमा लगेर सुताउनुभएको थियो । तर बिहान उनी ओछ्यानमै मृत फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिनुभयो ।

सामान्य घाइते भएपछि आज थप उपचारका लागि फिक्कलतर्फ ल्याउने तयारी गरी सुत्नुभएका उहाँले बिहान करिब ४ बजे खानेपानी माग्नुभएको थियो तर परिवारका सदस्य कोही पनि नउठे पनि उहाँ पुनःसुत्नुभयो । बिहान ६ बजेको समयमा उठाउन जाँदा ओछ्यानमा नै मृत फेला परेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने रामबहादुर फरार छन् । शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ ।

रासस