Tuesday, 01, December, 2020 info@saipalnews.com

निर्माण स्थलको टुङ्गो नलाग्दा पुलअलपत्र

पुस २२ काठमाडौँ । कोटेश्वरमा आकाशेपुल निर्माण कहाँ गर्ने भनी विवाद हुँदा निर्माण अघि बढ्न सकेको छैन । सडक विभागले कोटेश्वर चोकमा आकाशे पुल निर्माणका लागि गत चैतमा ठेक्का सम्झौता गरे पनि वडा कार्यालयले स्थान परिवर्तनको माग गरेकाले निर्माण अघि बढ्न नसकेको हो ।

डिभिजन सडक कार्यालयले कोटेश्वर चोक नजिकै पुल निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । काठमाडौँ महानगरपालिका–३२ ले सो पुल कोटेश्वर चोकभन्दा पनि तीनकुने नजिक हुनुपर्ने माग गर्दै आएको छ । अहिलेसम्म स्थान सार्ने कि नसार्ने भनी निर्णय भइनसकेको डिभिजन सडक कार्यालय काठमाडौँका इञ्जिनीयर सुदर्शन कार्कीले बताउनुभयो ।

कोटेश्वर चोकमा बस बिसौनी नजिकै पर्ने गरी पुल निर्माणको योजना बनाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वडा कार्यालयसँगको सल्लाहमा स्थानको निर्णय भएपछि नै निर्माण अघि बढ्नेछ ।”

सडक विभागले चालू आर्थिक वर्षमा कोटेश्वर र नयाँबानेश्वर चोकमा आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाएको थियो । काठमाडौँका पैदल यात्रुको चाप बढी भएका स्थान छनौट गरेर पुल निर्माण गर्न लागिएको इञ्जिनीयर कार्कीले बताउनुभयो ।

विगतमा काठमाडौँ महानगरपालिकाले नै नगरभित्र आकाशे पुल निर्माण गर्दै आएको भए पनि चालू आवमा उसको योजना नभएकाले सरकारले योजना अघि बढाएको हो । नयाँबानेश्वर चोकमा गत पुसमा नै पुल निर्माणको अवधि सकिए पनि अझै सम्पन्न भइसकेको छैन ।

रासस