Sunday, 27, September, 2020 info@saipalnews.com

आर्थिक समृद्धिकोलाई एकजुट हौँ : मन्त्री भट्ट

पुस २४ बाँके । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकको आर्थिक समृद्धिका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

बाँकेको कोहलपुरमा आजदेखि शुरु भएको तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, एवं पर्यटन महोत्सवको उद्घाटन समारोहमा बोल्दै मन्त्री भट्टले आर्थिक समृद्धिका लागि नेपालका राजनीतिक दल, सरकार, निजी क्षेत्र सबैलाई सहकार्यका लागि आग्रह गर्नुभयो ।

देशमा राजनीतिक क्रान्ति सकिएर अब आर्थिक क्रान्ति गर्ने समय आएको छ”, मन्त्रीले भन्नुभयो, “सरकार आर्थिक समृद्विका लागि सबैसँग सहकार्य गर्न तयार छ, सकारात्मक सोचसहित विकासमा सबै लागौँ, सरकार सबैलाई समेट्न तयार छ ।

मन्त्री भट्टले बाँकेको नौवस्ता औद्योगिक क्षेत्रलाई सरकारले पहिलो प्राथमिकता दिएको जानकारी दिँदै स्थानीयस्तरमा उत्पादित वस्तु, नयाँ तरिकाको कृषि व्यवसाय अबको प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

सरकार औद्योगिक क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा अघि बढेको उल्लेख गर्दै मन्त्री भट्टले देशभर रहेका प्रस्तावित औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयनमा लैजान ठोस योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कोहलपुर नगर समिति र महिला उद्यमी समितिको मुख्य आयोजनामा शुरु भएको महोत्सवमा सांसद महेश्वरजङ्ग गहतराजले बाँकेको कोहलपुरलाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रविन्दुका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले महोत्सवले स्थानीयस्तरबाटै उत्पादित भएको वस्तुलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले महासङ्घले सबै प्रदेशमा महोत्सव गर्ने जानकारी दिँदै लघु उद्यमीले उत्पादन गरेका वस्तु महोत्सवमा प्रदर्शन गरी आफ्नो लक्ष्य पूरा गर्ने बताउनुभयो ।

रासस