Saturday, 26, September, 2020 info@saipalnews.com

महानगर कप भलिबल : ललितपुर र चौताराको उपाधि भिडन्त पक्का

पुस २४ ललितपुर । महानगरपालिका र चौतारा नगरपालिका यहाँ जारी महानगर कप पुरुष भलिबलको फाइनलमा पुगेका छन् । ललितपुरले कमलामाई नगरपालिकालाई ३–० सेटले तथा चौताराले महालक्ष्मी नगरपालिकालाई ३–१ सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा आज भएको पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा चौताराले महालक्ष्मी नगरपालिकालाई २५–१४, ३५–३३, १८–२५ र २५–१७ अङ्कले पराजित गरेको हो । अर्को सेमिफाइनल खेलमा ललितपुरले कमलामाई नगरपालिकालाई २५–१५, २५–१५ र २५–८ अङ्कले हराउँदै उपाधि भिडन्तका लागि स्थान बनाएको हो । फाइनल खेल शुक्रबार हुनेछ ।

यस्तै शुक्रबार नै महिला भलिबलको फाइनल खेल हुनेछ । ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिका महिला भलिबलको उपाधिका लागि भिड्ने छन् । महिलातर्फ ललितपुरले गोकर्णेश्वर नगरपालिकालाई २५–१३, २५–१३ र २५–१६ अङ्कले तथा चन्द्रागिरिले विदुर नगरपालिकालाई २५–१४, २५–१३ र २५–१६ अङ्कले हराउँदै फाइनलमा प्रवेश गरेको प्रचारप्रसार उपसमितिकी संयोजक निलम बज्राचार्यले जानकारी दिनुभयो । ललितपुर महानगरपालिकाले आफ्नो १०१औँ स्थापना दिवसका अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको पुरुष तथा महिला भलिबलका विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार र तथा चौंथो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरुष र महिलातर्फ सर्वोकृष्ट हुने खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।

रासस