Wednesday, 21, April, 2021 info@saipalnews.com

जन–प्रशासन सङ्घको अध्यक्षमा बाँस्कोटा

पुस २५ काठमाडौँ । नेपाल जन–प्रशासन सङ्घ प्यानको अध्यक्षमा पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा निर्विरोध निर्वाचित हुनुभएको छ । सरकारका वर्तमान र पूर्व मुख्यसचिव,सचिव,विभिन्न आयोगका प्रमुख आयुक्त,आयुक्त तथा विश्वविद्यालयका प्राध्यापक सदस्य रहने सो सङ्घको नयाँ नेतृत्वको आज कार्यक्रमबीच शपथ ग्रहणसमेत गरिएको छ ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले आफू सुशासनको पक्षमा रहेकाले विचाराधीन सङ्घीय निजामति विधेयकजस्ता विषययमा सङ्घले नागरिक क्षेत्रका आवाज र विषयवस्तुलाई सरकारसमक्ष ल्याएर सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले वर्तममान सङ्घीय प्रणालीमा अभ्यासमा क्रममा परिवर्तन हुनुपर्ने भन्दै आफ्नो ठाउँबाट सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने जनाउनुभयो ।

विसं २०४७ मा स्थापित सङ्घमा पद बहालीपछि अध्यक्ष बाँस्कोटाले मुलुकी प्रशासनलाई समयसपेक्ष, चुस्त र दुरुस्त तुल्याउन आफूहरुले खबरदारी गर्ने बताउनुभयो । नेपाल सरकारका पूर्व सचिव बाँस्कोटाले यही पुस २३ गते सूचना आयोगको पाँच वर्षे कार्यकाल पूरा गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ, लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली, पूर्व प्रमुख आयुक्तहरु सूर्यनाथ उपाध्याय र भोजराज पोखरेल तथा पूर्व गभर्नर दीपेन्द्रपुरुष ढकालले सुशासन र विकासका विषयको बहसमा भाग लिनुभएको थियो । हरेक वर्ष हेमबहादुर मल्ल अवार्ड वितरण गर्दै आएको सङ्घको १० औँ कार्यकालको नयाँ कार्यसमितिमा १५ सदस्यीय हुनुहुन्छ ।