Thursday, 22, October, 2020 info@saipalnews.com

घण्टेश्वर खानेपानी आयोजनामा चरम भष्टाचार

पुस २६ डोटी । जोरायल गाउँपालिका वडा नम्बर १ स्थित घण्टेश्वर खानेपानी मर्मत योजनामा ठुलो भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । खानेपानी मर्मत योजनाको लागि जोरायल गाउँपालिकाबाट आर्थिक वर्ष २०७४ र ०७५ मा विनियोजित २ लाख र  प्रदेश सरकारवाट आर्थिक वर्ष २०७५र७६ मा विनियोजित २० लाखको खानेपानी मर्मत योजनामा पदाधिकारीहरुद्वारा भ्रष्टाचार भएको भन्दै उपभोक्ताहरुले उजुरी दिएपछि अख्तियारले छानविन प्रक्रिया थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर कञ्चनपुरले स्थानीय उपभोक्ताको उजुरीको आधारमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दिपायल तथा जोरायल गाउँपालिकाबाट आवश्यक कागजातहरु झिकाई अनुसन्धान थालेको जनाएको छ ।

उक्त योजनामा इस्टिमेट अनुसारको काम नगरि फर्जि प्राविधिक कर्मचारीहरु समेतको मिलेमतोमा रकम निकासा लिएको उपभोक्ताहरुले आरोप लगाएका छन् । लामो समयदेखि पानी अबरुद्ध भइरहने समस्याबाट पीडित उपभोक्ताहरु गाउँपालिका तथा प्रदेश सरकारबाट मर्मत योजना परेपछि खुशी भएका थिए । तर, उपभोक्ता समितिले मर्मत गर्नुको् साटो सबै रकम कुम्ल्याएपछि र धारामा पानी नआएपछि स्थानीयहरु निराश बन्दै अख्तियारमा उजुरी दिन बाध्य भएको घण्टेश्वरका चक्र मल्लले जानकारी दिएका छन् ।

गाउँपालिकाको वडा नम्बर १ अन्तरगत भिमदत्त पन्त राजमार्गसँग जोडिएका गैरा, बेल्चापलान, घोरडी, गोगनपानी र खडिनाका उपभोक्ताहरुलाई शुद्ध पिउनेपानी उपलब्ध गराउनका लागि बि : सं २०४७ साल अघिदेखि उक्त योजना सञ्चालित छ । यस्तै खानेपानी मर्मतको लागि आर्थिक वर्ष २०७४र०७५ मा पानी २ लाख बजेट विनियोजन गरिएकोमा गाउँपालिकाका प्राविधिकको मिलेमतोमा इस्टिमेट अनुसारको काम नगरि भ्रष्टाचार गरिएको उपभोक्ताहरुले आरोप लगाएका छन । उक्त बजेटबाट १ क्वायल पोलेथिन पाइप खरिद गरेर खडिनामा वितरण गरिएको बताइएको छ ।

यस्तै आर्थिक वर्षं २०७५र०७६ मा पनि सोही खानेपानी मर्मतको लागि २० लाख विनियोजन गरिएकोमा इस्टिमेट अनुसारको काम गरिएको छैन । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दिपायलबाट करिब ११ लाख बरावरको जिआई पाइप तथा अन्य फिटिङ्सका सामानहरु उपलब्ध हुने तथा अन्य बजेटबाट मुहानमा मर्मत सम्भारका कामहरु गर्ने लागत इस्टिमेटमा उल्लेख छ ।तर यता २०७५/७६ को अषाढ मसान्त भित्र सम्पन्न भइसकेको भनिएको उक्त योजनामा इस्टिमेट अनुसारको काम नगरि कार्यालयका प्राविधिक कर्मचारीको मिलेमतोमा भुक्तानी लिइएको पाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा स्थानीय जनप्रतिनीधिहरुको टोलीले गरेको अनुगमनमा पनि इस्टिमेट अनुसारको काम नभएको र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दिपायलबाट निकासा भएको जिआई पाइप तथा अन्य फिटिङ्सका सामानहरु फेला नपरेको बताइएको छ । यस्तै कुनैपनि योजना निर्माणको लागि आम उपभोक्ताहरु तथा जनप्रतिनिधिहरुको उपस्थितीमा निर्माण उपभोक्ता समिति गठन गर्ने र सोही समितिले योजनाको काम सम्पन्न गर्नु पर्ने नीतिगत ब्यवस्था छ ।

तर हामीले गाउँपालिका तथा प्रदेश सरकारबाट योजना ल्याएकोले हामीले योजनामा काम गर्नु पर्ने भन्दै स्थानीय शिबबहादुर ओली र भक्तबहादुर आलेले घण्टेश्वर खानेपानी मर्मत योजनाका जनप्रतिनिधि तथा आम उपभोक्ताहरुलाई कुनै जानकारी नगराई फर्जि कागजातका आधारमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दिपायल र जोरायल गाउँपालिकासँग सम्झौता गरि भ्रष्टाचार गरिएकोे स्थानीय उपभोक्ताहरुको आरोप रहेको छ ।

हाल सो क्षेत्रमा खानेपानीको चरम अभाव भइरहेको छ । उपभोक्ताहरुले गाडीबाट ढुवानी गरेर पानी पिउनु पर्ने बाध्यता रहेको छ । अहिले खानेपानी आपूर्तिका लागि आम उपभोक्ताको भेलाले स्थानीय हरिष बोहराको अध्यक्षतामा घण्टेश्वर खानेपानी उपभोक्ता समिति गठन गरेका छन ।