Thursday, 24, September, 2020 info@saipalnews.com

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन शुरु

माघ ५ कैलाली । सुदूरपश्चिम प्रदेशसभाको पाँचौं अधिवेशनहिँउदे अधिवेशन आजदेखि शुरु भएको छ । अधिवेशनको पहिलो बैठकको कारवाही प्रारम्भ गर्नुहुँदै सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वान गरिएको सम्बन्धी प्राप्त पत्रको व्यहोरा वाचन गर्नुभएको थियो ।

सो अवसरमा सभामुख थापाले प्रदेशसभा सदस्यबाट मर्यादित र अनुशासित भई अधिवेशनका बैठक सञ्चालनमा सक्रिय सहभागिता रहने अपेक्षा व्यक्त गर्दै स्वागत गर्नुभएको थियो । बैठकमा दिइएको विशेष समयमा बोल्नुहुँदै सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी९नेकपा०संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले प्रदेशको समृद्धिका लागि सत्तापक्ष वा प्रतिपक्ष भनेर हिँड्न नहुने बताउँदै समृद्ध प्रदेश बनाउनमा आगामी दिनमा प्रदेशसभा सदस्यको भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

विधेयक अधिवेशनका रुपमा लिइने हिउँदे अधिवेशनमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विधेयक आउने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “प्रदेशसभाले यसअघि बनाएका ऐन कानून के कति परिपालना भएको छ भन्ने तर्फ सोच्ने बेला पनि आएको छ ।”

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै यसअघिका प्रदेशसभा बैठकमा उठाइएका गम्भीर विषयलाई सरकारले सम्बोधन नगरेको बताउनुभयो । प्रदेश सरकारले एम्बुलेन्स खरीद गर्दा भ्रष्टाचार गरिएको भन्दै उहाँले अनियमित कार्यको छानबिन गरी दोषीलाई कारवाही गर्न, बजेट बाँडफाँडमा विगतमा प्रतिपक्षीसँग गरिएको सहमति कार्यान्वयन गर्न, मिचिएको नेपालको भूमि कालापानीलाई फिर्ता ल्याउने विषयमा गम्भीर ढङ्गले पहल गर्न माग गर्नुभयो ।

राष्ट्रिय जनता पार्टीकी मालामतिकुमारी राना थारुले जताततै भ्रष्टाचार भइरहेको भन्ने जनगुनासो बढेकाले यस विषयमा गम्भीर हुन, निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सो घटनाका सन्दर्भमा सबै दलको प्रतिनिधित्व हुनेगरी संसदीय छानबिन टोली बनाउनुपर्ने माग गर्नुभयो । अर्को बैठक यही माघ ७ गते मङ्गलबार मध्याह्न १२ः१५ बजे बस्ने छ । सुदूरपश्चिम प्रदेशसभाको चांैथो अधिवेशन गएको भदौ १ गते समापन गरिएको थियो ।