Tuesday, 29, September, 2020 info@saipalnews.com

कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित : मन्त्री ढकाल

माघ ७ बैतडी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित बनेको बताउनुभएको छ । आज बैतडीको पाटन नगरपालिका–८ स्थित खोडपेमा नवनिर्मित सिद्धेश्वर स्वास्थ्यचौकी भवन उद्घाटन समारोहमा उहाँले समायोजनले गर्दा अहिले विभिन्न स्वास्थ्य संस्थाहरुमा कर्मचारी अभाव भएको बताउनुभयो ।

स्वास्थ्यका कर्मचारी अभावप्रति गम्भीर ध्यानाकर्षण भएको छ”, उहाँले भन्नभयो, “समायोजन प्रक्रिया चाँडै टुङ्गिने र स्वास्थ्यका कर्मचारी अभाव रहने छैन, त्यसका लागि सरकार लागिपरेको छ ।” मन्त्री ढकालले स्वास्थ्यका उपकरण कमी रहेकाले परिपूर्ति गर्न आफू लागिपरेको बताउनुभयो । “सरकारले नागरिकका आधारभूत आवश्यकतामध्येको स्वास्थ्यका लागि लागिपरेको छ”, उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्य सेवाप्रति सरकार गम्भिर छ, जनशक्ति थप गरेर भए पनि स्वास्थ्य सेवा घरदैलोमै पुगाउँछौँ ।”