Wednesday, 21, October, 2020 info@saipalnews.com

सरकारले पार्टी होइन, पार्टीले सरकार चलाउनु पर्छ : प्रचण्ड

माघ १० , नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले पार्टी नभएर पार्टीले सरकार चलाउनु पर्ने बताएका छन् । नवलपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय सरकारका कामकारबाहीमा जनता असन्तुष्ट भएको बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पार्टीले जनताका दैनिकीसँग जोडिएका समस्यामा ध्यान दिनुपर्ने बताए  । स्थानीय सरकारका बारेमा अराजकता र अनियमितता भएको गुनासो आफुहरुले सुनेको भन्दै उनले यस्ता गुनासो अन्त्यकालागि पहिलो जिम्मेवारी पार्टीको भएको बताए । 

नेकपा अध्यक्ष प्रचण्डले सरकारका कामको जिम्मेवारी पनि पार्टीले लिनुपर्नेमा जोड दिए । उनले भने, ‘पहिलो जिम्मेवारी पार्टीले लिनुपर्छ । पार्टीले सरकारको नेतृत्व गर्ने हो, सरकारले पार्टीको नेतृत्व गर्ने होइन । संसारभरका कम्युनिष्टहरुले गर्ने यस्तै हो । हामीले युद्धका बेलामा पनि भन्थ्यौँ पार्टीले बन्दुक चलाउने हो, बन्दुकले पार्टी होइन ।’