Saturday, 19, September, 2020 info@saipalnews.com

सेती प्रादेशिक अस्पताल ध्वस्त पार्ने अभियानमा : डाक्टर पाण्डे

माघ १४ कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७६/०७७ मा सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेशिन जडानका लागि बजेट बिनियोजन गर्‍यो । सुदूरपश्चिमका जनताले गम्भीर प्रकृतिको विरामी जाँचका लागि सिटी स्क्यान गराउन मात्रै नेपालगञ्ज काठमान्डौँ र भारत जानु पर्ने बाध्यतालाई हटाउन प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाईमा मेशिन जडानको योजना रहेको थियो ।

तर, विनियोजित बजेट अनुसारको सिटिस्क्यान मेशिन जडानको कुनै सुर सार नै छैन ।  

सिटिस्क्यान गर्नकै लागि बाहिर जानु पर्ने बाध्यताको अन्तका लागि मेशिन जडान गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले  ८ करोड ५० लाख विनियोजन गरेको बजेट सदुपयोग भएको भए अहिले सम्म प्रादेशिक अस्पतालमा सिटिस्क्यान मेशिन जडान भएर सेवा दिइरहेको हुन्थ्यो । तर त्यसको उल्टो प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर हेमराज पाण्डे सिटी स्क्यान मेशिन राख्न नदिने चलखेलमा लागे ।

सामाजिक विकास मन्त्रालयले अस्पताललाई मेशिन खरिद र जडान गर्न बजेटको अख्तियारी दिएपछि मेसु पाण्डेले विरामीको आवश्यकताको बेवास्ता गर्दै सिटिस्क्यान मेशिन खरिद गरेर जडान गर्न नसकिने व्यहोरा सहितको पत्र मन्त्रालयलाई पठाएपछि सवै प्रक्रिया रोकियो । स्थानीय मेडिकल माफियाहरुसँग मिलेर पाण्डेले २०७६/०९/२० गते मेशिनको लागि आएको पैसा खुद्रे योजनामा रकमान्तर गर्न शीर्षकहरु राखेर मन्त्रालयलाई पत्र पठाएपछि सिटिस्क्यान मेशिन नराख्न भएको चलखेलको खुलासा भएको हो ।

सरकारी अस्पतालमा निस्शुल्करुपमा सिटी स्क्यान गर्न पाउने भएपछि मेसु पाण्डेको र अस्पताल भित्रकै केही डाक्टरहरुको लगानीमा सञ्चालित सिटी स्क्यानलाई घाटा हुने भन्दै सिटी स्क्यान मेशिन मेडिकल माफिया सहितको समुह विभिन्न बाहाना बाजि गरेर खरिद प्रक्रिया रोक्न सफलभएको अस्पताल श्रोतको दाबी छ ।

धनगढीमा पाण्डे सहितका डाक्टरहरु संलग्न रहेको एकमात्र सिटी स्क्यान मेशिन संचालमा रहेको छ । प्रदेशको एकमात्र रेफरल अस्पतालमा सिटी स्क्यान मेशिन नहुँदा विरामीहरुले मेसु पाण्डेको समुहले संचालन गरिरहेको ल्यावमा चर्को मुल्य तिर्न बाध्य बनेका छन् ।

रकमान्तरको धन्दा सिटिस्क्यान मेशिन खरिद गरेर जडान गर्न आएको बजेट रकमान्तर गर्न खोज्नुको पछाडि मेसु पाण्डेको कमिशन मोहले काम गरिरहेको अस्पतालका कर्मचारीले आरोप लगाउने गररेका छन् । पैसा खुद्रे योजनामा रकामान्तर गरेर खर्च गर्दा भने जति कमिशन प्राप्त हुने पाण्डेको अपेक्ष देखिन्छ ति कर्मचारीले भने ।

त्यसका लागि उनले मन्त्रालयलाई दवाव दिइरहेका छन् । मन्त्रलालय भने सिसतस्क्यान मेशिन खरिद गर्न जोड दिदै आएको छ । आफ्नो योजनामा मन्त्रालय बाधक बनेपछि मेसु पाण्डेले मन्त्रालयले केही समय अगाडी खरिद गरेर बितरण गरेका एक्बुलेन्समा ब्यापक भ्रष्टाचार भएको समाचार लेखाउँदै हिडेका छन् ।

सिटी स्क्यान मेशिन खरीदका लागि आएको बजेटको रकामान्तर गर्न मन्त्रालयलाई पत्राचार गरे पनि मन्त्रालय भने सिटीस्क्यान खरिदको पक्षमा देखिएको छ । रातो किताबमा आईसकेको बजेटलाई रकामान्तर गर्न नसकिने मन्त्रालयले जवाव दिएपछि रन्थनिएका मेसु पाण्डे मेडिकल माफिया दुश्यान्त बस्नेतको शरणमा पुगेका थिए ।

कर चुक्ता प्रमाणपत्र नक्कली बनाएको आरोपमा फरार रहेका दुश्यान्त बस्नेतले मेसु पाण्डेलाई उपकरण र औषधि खरिदमा सेटिङ्ग मिलाएर कमिसन उपलब्ध गराउने गरेको प्रादेशिक अस्पतालमा कार्यरत एक कर्मचारीले बताए । अस्पतालमा ब्रम्हलुट गरिरहेका डाक्टर पाण्डे आफुले माथिदेखि सेटिङ मिलाएकाले कसैले केही गर्न नसक्ने बताउँदै आएका छन् ।