Sunday, 27, September, 2020 info@saipalnews.com

नेकपा अध्यक्ष ओली र प्रचण्डको दम ! भीम रावलको भन्दा कम

माघ १७ काठमाडौँ । कतिपय मानिसमा प्राज्ञिक क्षमता अथाह हुन्छ तर उनीहरुले वकालतको भूमिका खेल्दैनन् । नेकपाका नेता भीम रावललसँग यी दुवै क्षमता छन्। त्यसकारण रावल अरु भन्दा फरक नेताका रुपमा चिनिएका छन् लामो समयदेखि । र जब पार्टीका बैठकहरु सुरु हुन्छन् झन धेरै चर्चा चुलिन्छ उनको।पार्टी एकताको २१ महिनापछि बुधबार सुरु भएको नेकपा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल बोलेपछि कार्यसूचीमा थप गर्नु पर्ने विषयबारे सुझाव संकलनको घोषणा गरियो।

सबै सदस्यहरु मौन रहे एकैछिन, मुखामुख पनि गरे । त्यो मनौतालाई चिर्न सबैभन्दा पहिले हात उठ्यो नेता रावलको। राष्ट्रिय बहसको रुप पाइरहेका विषयहरु एमसीसी, कालापानी क्षेत्र अतिक्रमण लगायतमा छुट्टै बहस गर्नु पर्ने र तीनलाई कार्यसूचीमा राख्ने माग रावलबाट उठ्यो ।अघिल्लोे महिना पुस ६ गते सम्पन्न ८ दिने स्थायी कमिटी बैठकमा यी विषयमा छुट्टै बहस गरिनु पर्छ भन्ने माग रावल लगायत नेताहरुले उठाएका थिए।तर ४४३ सदस्यीय केन्द्रीय कमिटी बैठकमा ती विषयहरु छलफलका लागि कार्यसूचीमा नपर्नुले नेतृत्व गम्भीर छैनन् भन्ने बुझन् रावललाई कठिन भएन।

रावलले फेरि दोहोराए,‘ विवादास्पद एमसीसी, कालापानी क्षेत्र अतिक्रमण लगायत विषय कार्यसूचीमा अट्नै पर्छ।’ त्यसपछि अन्य नेताहरुलाई पनि सहज भयो सुझाव राख्नालाई । उनीहरुले पेश गरेका रावलका सुझावसँग मेल खाए।नेता रावले अवसरको सदुपयोग गर्नुहुन्छ। अवसर पाउँदा आफ्ना धारणा पेश गरिहाल्नु हुन्छ त्यसमा उहाँको पूर्व तयारी हुन्छ । उहाँ बोलेपछि अरु नेताहरुलाई पनि सहज भएको देखिन्छ । आज पनि त्यस्तै भयो’, केन्द्रीय समितिका एक सदस्यले भने।

सबैको धारणा पेश होस् भन्ने मान्यताका साथ नै पार्टी बैठकहरु आयोजना गरिन्छन् । त्यस्तो बेला मौनता साँधियो भने बैठकको मूल मर्म संकटमा पर्छ। त्यसबारे पूर्ण जानकार छन् रावल। नेकपाको पछिल्लो स्थायी कमिटी बैठकमा यस्तै कार्यशैलीमा उत्रिएका थिए उनी।स्वास्थ्यका कारण अध्यक्ष ओली अनुपस्थित बैठकको एकल अध्यक्षतामा रहेका दाहालले कार्यसूचीबारे छलफलको कार्यक्रम घोषणा गर्दा सबैभन्दा पहिले रावल नै उठे । र, एमसीसी, सीमा र नागरिकता विवादबारे छुट्टै छलफल गर्नु पर्ने धारणा राखे।

पुस ५ गते बैठक चलिरहेका बेला राष्ट्रपतिलाई भेट्न गएपछि स्थायी कमिटी सदस्यहरुसँग अध्यक्ष दाहालले स्पष्टीकरण लिए । रावललाई पनि त्यो चित्त बुझेन, विरोध गरे ।राष्ट्रपतिको भेटमा सामेल परराष्ट्रमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले त्यसको बचाउ गर्दा रावलले नियम सबैलाई लागू हुने जवाफ दिए। त्यसपछि बैठकस्थलमा रहेका अन्य सदस्यहरु रावलको समर्थनमा उत्रिए।

खासगरी राष्ट्रियतासँग जोडिएका विषयहरुमा रावलले वकालत गरेको पाइन्छ। तर यो अहिले आवगेमा नभई लामोसमयदेखि अपनाउँदै आएको कार्यशैली भएको उनी बताउँछन्। त्यसबाट उनि विचलित पनि छैनन्।त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा विद्यार्थीका मात्रै होइन पढाईका पनि नेता थिए रावल। पोलटिकल साइन्समा ‘टपर’ विद्यार्थी उनको नेतृत्वमा निस्कने ‘स्टुडेन्ट भ्वाइस’ म्यागेजिन लोकप्रिय थियो। उनी नियमितरुपमा लेख लेख्थे। ती लेखहरुमा राष्ट्रिय हित र जनजीवीकाको विषय छुट्दैन थियो।

रावलका सहपाठी देवराज दाहाल भन्छन्,‘ रावलले राष्ट्रियताको मामिलामा कहिल्यै सम्झौता गर्नु भएन । अत्यन्तै मेहनत र लगाव भएको व्यक्ति हुनुहुन्छ उहाँ।’नेताहरु प्राय अरुका कुरा सुन्दैनन, आफूले के बोल्ने भन्ने सोचेको पाइन्छ। पट्यारलाग्दो भाषणमा उनीहरु रमाइरहेको देखिन्छ।तर बैठक होस् या अन्य कुनै कार्यक्रममा रावलले अरुले बोल्दा सुन्ने मात्रै गर्दैनन्, नोट गर्छन् । र आफ्नो धारणामा पूर्व तयारीका साथ राख्छन्।बुधबारको बैठकमा अध्यक्ष ओलीले एमसीसीको पक्ष र यति होल्डिङ्सको बचाउमा उत्रिदा निकै ध्यानपुर्वक नोट गरिरहेका थिए। ओलीले एमसीसीको फाइदामा केन्द्रीत भएका ओलीले त्यसका प्रावधानबारे एक शब्द खर्चिएनन्।

यति होल्डिङ्ससँग मिलेर नेपाल ट्रष्टको जिम्मा लगाइएको पूर्व राजपरिवारको सम्पत्ती हिनामिना गर्न उद्धत सरकारका प्रमुख ओलीले यतिसँग आफ्नो कुनै मितेरी सम्बन्ध नरहेको बताए। ओलीको यो जवाफमा रावल लगायत धेरै सदस्यहरु सन्तुष्ट देखिएनन्। जतिसक्दो तथ्यहरु संकलन गरेर बोल्ने कार्यशैली बनाएका रावलको विरोध गर्नेहरु पनि प्रशस्त छन्।

प्रधानमन्त्रीकै प्रेस सल्लाहकार समेत उनको विरोधमा उत्रिएको घटना सेलाएको छैन। तर पञ्चायती शासनको चर्को विरोधी रहेका बेला पनि पूर्व राजा विरेन्द्र शाहद्वारा निर्मित सेन्टर फर नेपाल एण्ड एसियन स्टडिज मा कुमार विक्रम शाहले त्यहाँ रावललाई ल्याएका थिए। अध्ययन र अनुसन्धानमा अब्बल रावलले यथार्थमा आधारित भएर आफ्नो धारणा राख्ने भएकाले फरक मत राख्नेहरुले पनि उनलाई मन पराउँछन्।दाहाल भन्छन्,‘रावलले जथाभावी बोल्नु हुन्न । अध्ययन या अनुसन्धानपछि मात्रै बोल्नु हुन्छ । यो कार्यशैली अरु नेताहरुले पनि अपनाउन सकेमा नेतृत्व सजक हुने थिए।’

रावलको यो कार्यशैली मन्त्री हुँदा पनि फेरिएन। राष्ट्रियता, सीमा सुरक्षा लगायत विषयमा नडराई बोल्ने नेता रावलाई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री बन्ने समेत अवसर आएका थियो । तर रावललाई परराष्ट्रमन्त्री हुनबाट बाह्य शक्तिसँग आवद्ध केही समूहले रोकेपछि उनले शिक्षामन्त्री बन्न गरिएको आग्रह पनि अस्वीकार गरिदिए।आफ्नो गुटको पक्षमा बोल्छ भन्ने रावलमाथि आरोप छ। तर माधव नेपालको सक्रियतामा गत वर्ष काठमाडोँमा आयोजित एशिया प्यासिफिक समिटको सबैभन्दा पहिले कडा विरोध गर्ने रावलल नै हुन्।जनताको प्रतिनिधि भएपछि उनीहरुसँग जोडिएको विषयमा हामी नबोले कसले बोल्ने रु रावल प्रश्न गर्छन्।

विद्यार्थी जीवनमा पनि धेरै अनकुल परिस्थितिमा रावलनै अघि सर्थे समस्या राख्न । ‘जहाँ जहाँ असहज हुने देखिन्छ । कतै प्रहरीले समात्ने आशंका गरिएको छ भने त्यहाँ बोल्न मलाई नै साथीहरुले पठाउँथे। यस्तो बेला अरुले बोल्छन् कि बोल्दैनन भनेर चुप लाग्नुहुन्न भन्ने लाग्थ्यो । त्यो मेरो स्वाभाव अझ बलियो भएको छ अहिले’, रावलले भने।विद्यार्थी कालसँगै राजनीतिक जिम्मेवारीमा रहँदा पनि रावलले आफ्ना कुरा प्रष्ट राखे चाहे त्यो संसद या संसदीय समिति होस्। बैठकहरुमा कहिलेकाँही रावललाई कतै कोही पनि नबोल्दिने हुन् की भन्नेमा डर लाग्छ । त्यसैले उनले प्राप्त अवसरको सदुपयोग गरिहाल्छन्।

उनी भन्छन्,‘ कोही रिसाउँछन् तर मेरो देश र समाजका लागि बोल्नु कुरामा म डराउँदिन । यो अहिले मात्रै आवेगमा आएर कसैको आलोचना वा टिप्पणी गरेको होइन। यो लामो समयदेखि विकसित गर्दै आएको मेरा कार्यशैली हो।कतिपयले उनलाई जे विषयको पनि विरोध गर्ने र चर्चा कमाउन जहाँ पनि बोल्ने गरेको आरोप पनि लगाउँछन्।

तर रावलले मानिसहरुले इतिहास विर्सिएको बताउँछन्। ‘पार्टीको नवौँ महाधिवेशनको सभा कक्ष असफल हुँदा त्यो मिलाउने मान्छे मै थिए। सातौँ र नवौँ महाधिवेशनको बीचमा पार्टी फुटको संघारमा पुगेका बेला नेताहरुलाई मिलाउने मै थिएँ। यस्तो संयोजनाको काम शान्तिप्रक्रिया देखि कयौँ गरेको छु। तर मेरो पृष्ठभूमिलाई ओझेलमा पारेर अहिले सरकारले गरेका कतिपय अव्यवहारिक निर्णय सच्चाउनु पर्छ भन्दा विरोध गर्ने देखियो।

पद नपाएका कारण पनि रावलले जुनसुकै विषयमा विरोध गर्छ भन्नेहरु पनि छन् । उनीहरुलाई लक्षित गर्दै रावल भन्छन्,‘बहुदलीय व्यवस्था आइसकेपछि आफ्नो पार्टीले आधिकारिक निर्णय गर्दा पनि म मन्त्री हुन्न अरु साथीहरुलाई बनाउनु भन्ने मै हो।’आफ्नो देशभक्तीपूर्ण अडान र यर्थाथ माथि आधारित विषयमा खण्डन गर्न नसक्ने पराजित मानसिकताका कारण आफूलाई त्यस्तो आरोप लगाउने गरेको उनको भनाई छ।

रावलले हालआएर एमसीसीको मात्रै विरोध गरेका छैनन्, कालापानी क्षेत्रको अतिक्रमण, महाकाली सन्धि लगायतका विरुद्धमा पनि खरो रुपमा उत्रिएका थिए।उनी भन्छन, ‘आफ्नो देशको हित भन्दा आफ्नो पदका लागि वा अरु कुनै स्वार्थबाट प्रेरित भएर शक्ति राष्ट्रलाई रिजाउने मानसिकता भएकाले मेरो अडानको विरोध गर्छन ।

  • साभार देशसञ्चार