Thursday, 24, September, 2020 info@saipalnews.com

विकास विरोधीहरू भ्रामक प्रचार प्रसारमा लागे : मंत्री सुवेदी

माघ १७, अत्तरिया । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले विकास विरोधी तत्वहरू निरन्तर भ्रामक प्रचार प्रसारमा लागेको बताएका छन् । मन्त्री सुवेदीले सामाजिक विकास मन्त्रालयका राम्रा काम देखेर विकास विरोधी तत्वहरू आत्तिएको दाबी गरे । 
“केही तत्वहरू अहिले सामाजिक विकास मन्त्रालयका काम देखेर आत्तिएका छन्” बिहीबार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटास्थित सरस्वती माध्यामिक विद्यालयको ६१ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री सुवेदीले भने, ‘गल्ती नगरेपछि डराउनुपर्ने अवस्था हुदैन ।’  उनले पछिल्ला दिनमा आफु विरुद्ध विकास विरोधी तत्वहरूले राजनीतिक पूर्वाग्रही ढंगले भ्रामक प्रचार प्रसार गरिरहेको भन्दै त्यस्ता प्रायोजित समाचारहरूले फरक नपर्ने बताए । 
मन्त्री सुवेदीले प्रदेश सरकार प्रदेशमा गुणस्तरीय शिक्षाको विकासकालागि प्रतिवद्ध रहेको भन्दै  प्रदेश सरकारले विद्यालय भवन निर्माणकालागि आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए ।
उनले सुदूरपश्चिम प्रदेशको नमुना विद्यालयको रुपमा स्थापित सरस्वती माविमा प्राविधिक शिक्षा विस्तारकोलागि मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । 
कार्यक्रममा गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायतले सरस्वती माविले नगरपालिकाको नाम उचो बनाएको चर्चा गरिन् । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेश थापाले विद्यालयमा राज्यको न्युन उपस्थिति रहेको बताए । प्रधानाध्यापक थापाले भने ‘यो विद्यालयमा ५९ जना कर्मचारीमध्ये ४२ जना निजी स्रोतबाट व्यवस्था गरिएका छन् ।‘ सरकारी स्रोतका १९ जना मात्रै शिक्षक छन् । 
उनले सरस्वति माविमा अहिले दुई हजार विद्यार्थी रहेकोले कक्षा कोठाको अभावमा दुई सिफ्टमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताए ।