Thursday, 01, October, 2020 info@saipalnews.com

पाँचौ हाइलेण्डर पशुपती फारवेष्ट कपको उद्घाटन गर्दै मन्त्री सुवेदी

माघ १७ कैलाली । शुक्रबारबाट पाँचौ हाइलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता शुरु भएको छ । उक्त प्रतिगिताको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरेका थिए । ९ लाख धनराशीको पाँचौ हाइलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा पहिलो खेलमा कैलारी युथ युनाईटेडले जित हात पारेको छ ।

 उद्धघाटन खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लवलाई ३–२ ले पराजित गर्दै कैलारी युथ युनाइटेडले जित निकालेको हो । युनाइटेडलाई जिताउने क्रममा सञ्जु चौधरीले २ तथा आर्जु चौधरीले १ गोल गरे। आयोजक फारवेष्ट पशुपति युवा क्लवको तर्फबाट निलेश विष्टले दुई गोल गरे पनि आफ्नो टीमलाई जिताउन सकेनन्।

यसअघि आयोजक फारवेष्ट पशुपति युवा क्लवका अध्यक्ष खेम रावतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रतियोगिताको उद्धघाटन गरेका थिए।

आजदेखि सुरु भएको प्रतियोगिता माघ २५ गतेसम्म सञ्चालन हुने छ। प्रतियोगितामा सहभागी १५ टीमलाई दुई समुहमा विभाजन गरिएको छ। प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन्। चौथो संस्करणको विजेताले चार लाख तथा उपविजेताले दुई लाख पुरस्कार पाएको थियो।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रत्येक खेलको म्यन अफ द म्याचले दुई हजार ७ सय नगद पाउने आयोजकले जनाएको छ ।