Tuesday, 22, September, 2020 info@saipalnews.com

म सेलिब्रेटी बैंकर होइन : सुनिल केसी

काठमाडौँ । पछिल्ला दिनमा नेपाली टेलिभिजन च्यानलमा एउटा फरक खालको विज्ञापन बजिरहेको छ । साना तथा मझौला कर्जा प्रवद्र्धन गर्ने विषयलाई केन्द्रमा राखेर तयार पारिएको विज्ञापनले धेरैले ध्यान आकर्षित गरेको छ । कृषक आफ्ना कृषि उपज व्यापारीलाई बिक्री गरिरहेका छन् तर त्यहीमध्येकी एक कृषक अर्थात् रङ्गमञ्चकी कलाकार लक्ष्मी बर्देवा आफूले उत्पादन गरेको कृषि उपज व्यापारीलाई बेच्न छाडेर आफैँ उद्यम गर्न थाल्नुभएको छ ।

यही सामान्य लाग्ने विषय समेटिएको विज्ञापनले भन्ने सन्देश हो, ‘साना तथा मझौला उद्यम गर्न चाहुनुहन्छ भने एनएमबी बैंकमा आउनुस् र सहजै कर्जा लिनुस् ।’पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्था साना तथा लघु उद्यमतिर आकर्षित भइरहेका छन् । कृषि र साना तथा मझौला उद्योगको विकास नगरी आर्थिक समृद्धि कोरा कल्पना मात्रै हुनजान्छ भन्ने ध्येयका राखिएको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयसँगै जोडिएको बैंकको केन्द्रीय कार्यालय पुग्दा साँझको ५ बजेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी विभागीय बैठकमा हुनुहुन्थ्यो सायद । बैठक सक्ने बित्तिकै हामी उहाँसँग गफिन थाल्यौँ । उहाँले आफ्नो बैंकिङ ‘करियर’, बैंकको लगानी तथा भावी दिशाका बारेमा सविस्तार हामीलाई सुनाउनुभयो ।

३० वर्षे बैंकिङ करियरमा हरेक दिन हरेक मिनेट मेरा लागि सिकाइका समय बनिरहेका छन्  । सुखमा मात्तिइन्, दुःखमा पनि आत्तिने बानी छैन । हरेक क्षणलाई सदुपयोग गरेको छु । त्यसैले नै मलाई सफलता दिएको छ”, उहाँले भन्नुभयो, “बैंकिङ आफँैमा रिस्की क्षेत्र पनि हो तर यसलाई फुकी फुकी विचार गरी गरी अगाडि बढ्दा सफलता मिलेको छ ।”

बैंकिङ क्षेत्रका शुरुआती दिनहरु अहिले जस्तो सहज थिएन । तीनवटा सरकारी बैंक थिए भने तीनवटा निजी क्षेत्रका त्यसमा पनि विदेशी लगानीका बैंक थिए । बैंकिङ कारोवार गर्न असाध्यै गाह्रो थियो । उपभोक्ता बैंक खोज्दै जानुपर्दथ्यो तर अहिले बैंकहरुले ग्राहक खोज्दै हिँडेका छन् । तत्कालीन ग्रिन्डलेज बैंक हालको स्ट्यान्डर्ड चार्टर्ड बैंकको सहायक पदबाट बैंकिङ करियर शुरु गर्नुभएका केसी यतिबेला एउटा सफल बैंकरका रुपमा चिनिनुहुन्छ ।

जीवनका पयो खोल्दै जाँदा उहाँले सफलताका कथा मात्रै सुनाउनु भएन भीषण दुःखका पत्र पनि खोल्नुभयो । जीवन सिकाइ हो, अनुभवले खारिँदै जाँदा दुःख पनि सुखमा परिणत हुँदै जान्छन्, मैले सिकेको जीवनमन्त्र यही हो, भाग्यले यहाँसम्म पु-यायो, केसीको मुहारमा विगतमा ती दिन ताजा बनेर आए ।

जतिबेला सामान्य एलसी खोल्नसमेत महिना दिन लाग्थ्यो, ग्राहकहरु भौँतारिँदै हिँड्थे । बैंकका कर्मचारी कुनै छुट्टै ग्रहबाट आएका जस्ता थिए । समयले परिवर्तन ल्यायो, सोच बदलियो, मान्छेका चाहना र अवसर पनि बदलिए । बैंक उद्योगका रुपमा विकास हुँदै गयो, आज म जहाँ छु, त्यो मेरो मेहनतको परिणाम हो, केसी विगतमा हराउनुभयो । भन्नुभयो, “सहायक पदबाट जागिरे जीवन शुरु गरेको मेरा लागि बैंकको उच्च पद प्राप्त हुनु नै सफलताको उच्चतम विन्दु हो । मेरा लागि परिवारको सहयोग, अनि  भाग्य दुवै सफलता कारक बने । सिकारु मेरो चरित्र आज पनि उस्तै छ ।”

उहाँले आफ्नो आनीबानीका बारेमा समेत बताउनुभयो ।  केही समय स्ट्याण्र्डड चार्टडमा गुजारेपनि एनमएबी फाइनान्स हुँदै विकसित भएको आजको एनएमबी बैंकका हरेक शाखामा काम गरेको अनुभव पनि उहाँका लागि सहयोगी बने । “म सेलीब्रेटी होइन, तर अवसरको भने सदुपयोग गरे । यो नै मेरो जीवनको सफलताको यात्रा हो । तपाई यसलाई के भन्नुहुन्छ आफैँ भन्नुस्”, उहाँले हामीतिर नै आफ्नो प्रश्न छाडिदिनुभयो । बैंकले गत आर्थिक वर्षमा रु दुई अर्ब २६ करोड नाफा आर्जन ग-यो ।

ओम डेभलपमेन्ट बैंकलाई गाभेपछि सञ्चित मुनाफा रु ५४ करोड ८९ लाख र शेयर स्वाप अनुपातबाट रु ६० करोड ३६ लाख जगेडा कोषमा राखेको छ । सिमेन्ट उद्योगमा क्रान्ति नै ल्याएको नेपाली साझेदार सहितको होङ्सीमा नेपाली बैंकहरुले रु १६ अर्ब लगानी गरेका छन् । त्यसमा एनएमबीले मात्रै ६ अर्ब ७५ करोड लगानी गरेको छ ।  सिडिसीको नेपाल प्रवेश पनि सोही बैंकबाट भएको हो । गत फागुनमा सिडिसीले बैंकलाई रु एक अर्ब ५० ऋण दिएको छ । त्यो सिडिसीको पहिलो लगानी थियो ।

बैंकले विदेशी रणनीतिक साझेदारको परामर्शमा धेरैभन्दा धेरै साना तथा मझौला कर्जामा ध्यान दिएको छ । विदेशबाट कर्जा ल्याएर बैंकले गाउँगाउँमा गएर कृषि कर्जा प्रवाह गर्दै आएको छ । महिला उद्यमशील महासङ्घसँग सम्झौता गरेर १२ हजार महिलासँग बैंक जोडिन लागेको छ । विदेशबाट फर्केका नेपालीलाई कर्जा प्रवाह गर्न लागेको छ । यसै आर्थिक वर्षमा एक हजारभन्दा धेरैलाई यस्तो कर्जा प्रवाह गर्न लागेको छ ।

देशभित्रै पूँजी बनाउने सोच 

देशको विकासका लागि पहिले आन्तरिक स्रोतको जोगाड गरौँ भन्नेतर्फ ध्यान दिएको छ एनएमबीले । गत वैशाख १ गतेदेखि प्रधानमन्त्रीले शुरु गर्नुभएको सबै नेपालीको बैंक खाता अभियानले सार्थक सफलता पाइरहेको छ । पूँजी निर्माण गर्ने र बैंकिङ पहुँच पु¥याउने त्यो एउटा सुवर्ण अवसर नै थियो । खर्च गर्ने मात्रै होइन बचत गर्ने पनि बानी पनि बसाल्ने अभियान हो त्यो । ‘खोलाँै खाता’ भन्ने नाराले बैंकिङ उद्योगलाई सहयोग गरेको छ ।

एनएमबी अब राजधानीभन्दा पर दूरदराजमा जान प्रयत्न गरिरहेको छ । वाग्मती प्रदेशभन्दा पर जाऔँ र केही गरौँ भन्ने सोँच छ बैंकको । सपना दूरदराजमा छन् । चाहना गाउँमा छन्, शहरोन्मुख क्षेत्रमा छन् । लगानी शहरभन्दा पर जरुरी भइसकेको छ । मानिसले नयाँ सोच शहरको भीडभन्दा पर प्रतिबिम्बित गरेका छन् । बैंकले अरू संस्थालाई गाभ्दा पनि ग्रामीण क्षेत्रलाई केन्द्रमा राखेका वित्तीय संस्थालाई ध्यान दिएको छ ।

नेपालको समस्या बचत नगर्ने  अनावश्यक खर्च गर्नेमा छ । नेपाल भित्रिएको रु आठ खर्ब जति विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । विलाशिताका सामानमा पैसा बगिरहेको छ । सरकारले शुरु गर्नुभन्दा पहिल्यै एनएमबी बैंकले ‘एक घर, एक बैंक खाता’ भन्ने अभियान नै चलाएको थियो । त्यसको ब्रान्ड एम्बेस्डर महानायक राजेश हमाल हुनुहुन्थ्यो । बचत गर्नुपर्छ भनेर वित्तीय साक्षरता  अभियान चलाउने पहिलो बैंक थियो एनएमबी ।

कृषि उद्यमशीलतामा ध्यान 

जहाँ उद्यमशीलता छ, त्यहाँ लगानी गरा भन्ने बैंकको मूलमन्त्र छ । त्यसले रोजगारी सिर्जना हुन्छ र आर्थिक गतिविधि पनि बढाउँछ भन्नेतर्फ ध्यान दिएको छ । बैंक खाता अभियान शुरु भएपछि दुई लाख जति नयाँ खाता थपिए । नेपालमा  वार्षिक रु दुई खर्ब जतिको कृषि उपज आयात भइरहेको छ । नेपालमा  काम गर्ने मान्छे छन्, उद्यमशीलता भएका किसान पनि छन् । बजार छ, उपभोग पनि छ । उत्पादन गर्ने किसान र बजारको सम्बन्ध राम्रो नहुँदा विचौलियाले हालीमुहाली गरेका छन् ।

दुःख गर्ने किसानले केही नपाउने, उपभोक्ताले बढी पैसा तिर्नुपर्ने अवस्था छ । त्यो अवस्थाको अन्त्यका लागि कृषि उद्यमशीलतालाई जोड दिएको छ बैंकले । काम गर्न सक्ने  ६० लाख कामदार विदेशमा छन् । “उनीहरु सीप सिकिरहेका छन् । उनीहरु फर्केर आउँदा नेपालमा काम गर्ने वातावरण बनोस् भनेर हामी लागेका छौँ”, लगानीको विराट क्षेत्र देखिरहेको केसीले सुनाउनुभयो । नेपालमा रहेको अपार सम्भावना पानीमा बगेर गइरहेको छ । त्यो सम्भावनालाई यथार्थतामा परिणत गर्ने केसीको सोँच छ ।

ऊर्जामा ठूलो लगानी 

बैंकले कृषिको अलावा ऊर्जा क्षेत्रमा समेत ठूलो लगानी गरेको छ । जलविद्युत्का अलावा वैकल्पिक ऊर्जामा पनि ध्यान दिएको छ । नेपाललाई मध्यस्तरीय आय भएको देश  बनाउने महत्वपूर्ण माध्यम भनेकै ऊर्जा हो । पछिल्ला  १५ वर्षमा निजी क्षेत्रले गरेको लगानीले ठूलो योगदान गरेको छ । व्यापारिक घराना पनि ऊर्जामा लगानी गर्न आएका छन् । त्यसमा एनएमबी बैंकको ठूलो साथ छ भन्नुहुन्छ केसी ।

सो बैंकले मात्रै ४० भन्दा बढी परियोजनामा लगानी गरेको छ । रु १६ अर्ब बराबरको कर्जा प्रतिबद्धता जनाएको  छ । एनएमबी बैंकको साझेदार संस्था पनि ऊर्जामा लगानी केन्द्रित गर्न चाहन्छ । डचहरुको वित्तीय संस्थासँग एनएमबी बैंक जोडिएको छ । नेदरल्यान्डको एफएमओ बैंकको साझेदार हो । सो संस्थाको १५ प्रतिशत शेयर एनएमबीमा छ । दिगो विकास गर्न दीर्घकालीन लगानी गरौँ भन्ने उनीहरुको सोच छ । ऊर्जा क्षेत्र प्रमुख प्राथमिकतामा पर्नुको पछाडि सोही कारण भएको केसी बताउनुहुन्छ ।

बैंकले सौर्य ऊर्जामा पनि लगानी गरेको छ । रुफ टफ सोलार परियोजनामा पनि त्यसमा समेटिएको छ । नेट मिटरिङ गर्ने कार्यविधि नेपाल विद्युत् प्राधिकरणले ल्याएको छ । “विद्युत् पर्याप्त हुने वित्तिकै नयाँ प्रकारको लगानी जुट्छ । रासायनिक मल कारखाना खुल्छन् । नयाँ  सिमेन्ट उद्योग खुल्छन् । “लागत घटेपछि मूल्य प्रतिस्पर्धी हुन्छ”, उहाँले भन्नुभयो । राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि नै ऊर्जामा लगानी गरेको केसीले तथ्याङ्क पेश गर्नुभयो ।

लोडसेडिङ हटाउन नेपाल विद्युत् प्राधिकरण लाग्यो, हामीजस्ता बैंकहरुले पनि लगानी ग¥यौँ । आजको दिनमा जश प्राधिकरणले लिन्छ तर बैंकको लगानी पनि कम छैन नि रु देश उज्यालो भएको जश हामीले पनि पाउनुपर्छ”, केसी केही स्वार्थी देखिनुभयो । हामीले दिगो विकास गर्ने क्षेत्रका रुपमा ऊर्जालाई लियौँ  ”, उहाँले भन्नुभयो, “नेपालमा ३६० दिन घाम लाग्छ, सौर्य परियोजनामा लगानी गर्दा फाइदा हुन्छ । हामी गरेको कामले भावी पुस्तालाई पनि फाइदा पुग्ने हुनुपर्छ ।”

सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्यलाई पछ्याउन बैंक तथा वित्तीय संस्था लागेका छन् । नेपालका सबै बैंक तथा वित्तीय संस्थाको पैसा जम्मा पार्दा पाँच हजार मेगावाटभन्दा बढी निर्माण गर्ने स्रोत जम्मा हुँदैन । लगातार आठदेखि १० प्रतिशतको आर्थिक वृद्धिका लागि ठूलो लगानी चाहिन्छ । उहाँले ‘क्वान्टम लिप’को कुरा गर्नुभयो ।

नेपालको पूँजीले मात्रै त्यो छलाङ हान्न नसक्ने अवस्था छ । उच्च आर्थिक वृद्धिका लागि ऋण लिन डराउनु हुँदैन तर त्यसलाई सदुपयोग गर्नुपर्छ उहाँले सुनाउनुभयो ।  नेपालको कूल ग्रार्हस्थ उत्पादनको ३० प्रतिशतको हाराहारीमा मात्रै ऋण छ । अरू देशले ७५ प्रतिशतसम्म पनि ऋण लिएका छन् ।

संसारभर दिगो विकासका लागि फाइनान्सिङ गर्ने कोष छन् । डच फाइनान्सले लगानी गरेको र  स्वपूँजी नै राखेकाले पनि एनएमबीलाई सजिलो भएको उहाँको धारणा छ । “नेपालको आर्थिक क्षेत्रमा हामीले केही नयाँ गराँै भन्ने लाग्यो । अरू बैंकभन्दा फरक छन्  हाम्रो लगानी गर्ने मोडल । यसअघि नै विदेशी संस्थाले लगानी गरेका कारण पनि हामीलाई सजिलो भयो”, उहाँले भन्नुभयो, “पुराना वैधानिकताले पनि काम ग¥यो । नेपालमा पैसा चाहिने समय आयो भन्ने भएपछि हामीले विदेशी संस्थाबाट पैसा ल्यायौँ ।”

गत आवमा मात्रै १३ खर्ब जतिको व्यापार घाटा भयो ।  त्यसलाई घटाउने दायित्व सरकारको मात्रै होइन होला ? हाम्रो पनि हो भन्ने ठानेर आन्तरिक रुपमा आर्थिक गतिविधि बढाउन केन्द्रित भएको उहाँको भनाइ छ । “विदेशबाट आएको भन्दा ठूलो परिणाममा पैसा विदेशिएको छ । त्यसलाई रोक्न केही न केही त अवश्यै गर्नुपर्छ नि ? उहाँले भन्नुभयो । कूल ३०० भन्दा बढी साना तथा मझौला उद्योगमा लगानी गरेको छ ।

साना, मझौला र मध्यमस्तरका उद्यम व्यवसायमा लगानी बढाउनुपर्छ भन्ने सोचका साथ प्रदेश–१, प्रदेश–५ र गण्डकीमा बलियो उपस्थिति जनाएको छ बैंकले । भौगोलिक हिसाबले बजार पहुँच विस्तारका लागि मर्जरमा गएको केसी विस्तारमा सुनाउनुहुन्छ । बैंकको प्राथमिकताको क्षेत्र कृषि, ऊर्जा, पर्यटन जस्ता सरकारले प्राथमिकता दिएका नै हुन् ।

साना तथा मझौला उद्यम व्यवसायमा पनि हाम्रो बलियो पकड जरुरी छ भन्ने रणनीतिले काम गरेको छ । राम्रो पडक भएका बैंक वित्तीय संस्थासँग रणनीतिक रुपमा मर्जरलाई जोड दिएको छ । त्यसले बिग मर्जर नै चाहिन्छ भन्ने मान्यतालाई समेत गलत साबित गरेको छ ।

केही वर्षअगाडिसम्म काठमाडौँसहित केही प्रमुख शहरमा मात्रै धेरै आर्थिक गतिविधि हुन्थे । अहिले देशभर विस्तार भएको छ । पछिल्ला तीन वर्षमा देशको आर्थिक वृद्धिदर लगातार ६ प्रतिशतभन्दा माथि पुगेको छ । त्यसले पनि बैंकलाई अवसरै अवसर दिएको छ ।

किन एनएमबी बैंक 

सामान्यता बचत गर्न ग्राहक बैंकमा आउँछन् तर एनएमबी बैंकले बचत मात्रै गर्दैन । बचत भएको पैसा बृहत्तर आर्थिक लाभ हुने क्षेत्रमा लगानी गर्छ । जो कोहीले बचत गरेको रकम पनि कहाँ लगानी भयो भनेर हेर्न जान्न सक्छ । एनएमबीले दिगो क्षेत्रमा लगानी बढाएको छ ।

कुनै ठूलो होटलमा खुल्यो भने त्यसले  पोल्ट्री, डेरी र बेकरी उद्योगमा सहयोग पु¥याउँछ भन्ने ठानेको छ बैंकले । बचतकर्ताको पैसाले ब्याज मात्रै कमाउँदैन, दिगो आर्थिक विकास पनि गर्छ भन्ने मान्यता अगाडि सारेको छ । यस्तै सुशासनका आधारमा हेर्दा केसीले नेतृत्व गरेको बैंक शीर्ष स्थानमा छ । आजसम्म कुनै विवादमा परेको छैन ।

अधिकाशं ग्राहक सन्तुष्ट छन् किनकि विदेशीदेखि स्वदेशी लगानीकर्ता पनि खुशी छन् । कर्मचारी सञ्चयकोषसमेत बैंकको लगानीकर्ता हो । डिजिटल बैंकिङमा पनि उस्तै ध्यान दिएको छ । ग्राहकलाई पछिसम्म सम्झने खालको सेवा दिएका छौँ, उहाँले आफ्नो बखान आफैँ गर्नुभयो तर सत्यमा टेकेर । भन्नुभयो, “ नेपालको कर्पोरेट बैंकिङ एवम् सुशासनमा एनएमबी बैंक अरूभन्दा धेरै माथि छ ।”

नेपालमा मोबाइलको प्रभाव बढ्दै गएको छ । हरेकको हातमा स्मार्ट फोन छ । हामी अब विद्युतीय बैंकिङमा जान लागेका छौँ । ७० प्रतिशत ग्राहक बैंकमा नै नआइकन पनि कारोवार गर्ने वातावरण बनाउन लागेको केसीले सुनाउनुभयो । ग्राहकलाई गुणस्तरीय सेवा दिने हाम्रो पहिलो लक्ष्य छ ।

सवारी साधनमा बढी लगानी किन ?

गाडी किन्न पैसा माग्न आयो भने सहजै दिने तर केही उद्यम गर्छु भन्नेलाई धितो खोज्ने प्रवृत्तिको कहिले अन्त्य हुन्छ होला रु हाम्रो अर्को प्रश्न थियो केसीसँग ।

सो प्रश्न भुइँमा खस्न नपाउँदै प्रमुख कार्यकारी अधिकृत केसी केही क्षण चुप लाग्नुभयो । “बाहिरबाट हेर्दा सवारीसाधनमा भएको लगानी अनुत्पादक नै लाग्न सक्छ तर संसारभर नै अटो फाइनान्सिङ भइरहेको छ । त्यसले आर्थिक गतिविधि भइरहेको छ भन्ने पनि देखिन्छ तर हाम्रोमा बाध्यता छ । सार्वजनिक सवारीको अवस्था बेहाल छ । मानिसहरु गाडी नै नभए पनि मोटरसाइकल भने पनि किनौँ भन्ने अवस्थामा छन्”, उहाँले भन्नुभयो ।

रेल सञ्जाल विस्तार नभएको अवस्थामा बाध्यता नै छ अटोमा लगानी उहाँले हाम्रो धरातलीय यथार्थ सुनाउनुभयो । आर्थिक गतिविधि बढेर नेपाल विस्तारै फैलिँदैछ । सवारीसाधन अत्यावश्यक नै भइसकेको छ । त्यसका कारण यो उत्पादनशील क्षेत्र नै हो ।

एनएमबीले विद्युतीय सवारी साधारण खरिद गर्नेलाई आधार दरमा नै ऋण दिएको छ । वातावरणीय सुरक्षा एवम् जगेर्नाका लागि पनि त्यसो गरिएको केसीको भनाइ छ । यातायातको क्षेत्रमा सरकार वा बैंकले थप लगानी गर्ने बेला आएको उहाँको भनाइ छ । राम्रोसँग वातावरण बनाइदिनुस् कोही पनि व्यक्तिगत सवारीसाधन लिएर हिँड्दैन ।

किन बढी व्याज 

ब्याजदर बजारले निर्धारण गर्छ । माग र आपूर्तिको अर्थशास्त्रीय सिद्धान्तले ब्याजदर निर्धारण गर्छ । राष्ट्र बैंकको निर्देशन छँदैछ । गत वर्षभन्दा यस वर्ष कम ब्याजदर छ तर निक्षेपकर्ताको पनि हित हेर्नुपर्छ । उनीहरुलाई मार्ने कुरा भएन । मूल्य वृद्धिको मात्रा पनि हेनुपर्नेछ, उहाँको जिकिर छ । एकल विन्दुमा ब्याजदर ल्याउने विषय पनि बजारले नै निर्धारण गर्ने कुरा भएको उहाँको भनाइ छ । बढी ब्याजदर भएको कुरा गलत हो । हामीले त्यस्तो गरेका छैनौँ”, उहाँले स्पष्टिकरण दिने शैलीमा भन्नुभयो ।

बैंकिङ सुरक्षामा अब्बल 

विश्वभर नै साइबर सुरक्षाको विषय अहम् बनेको छ । जस्तोसुकै सुरक्षा प्रणाली जडान गरे पनि सुरक्षाको पर्खाल तोड्नेसँग त केही लाग्दैन । एनएमबी बैंकले के गरिरहेको छ रु हाम्रो स्वाभाविक प्रश्न थियो । विश्वभर नै बैंकिङ सुरक्षाको प्रश्न उठिरहेको छ । बैंक विश्वासको व्यापार हुने क्षेत्र पनि हो । लगानीकर्ता र निक्षेकपर्ताको विश्वास पनि टुट्छ । जस्तोसुकै सुरक्षा प्रणाली राख्दा पनि ह्याक भइरहेको छ । केही समयपहिले चिनियाँ ह्याकरले प्रणाली नै झण्डै सिध्याएका थिए । सचेत देखिनुहुन्छ केसी ।

निक्षेपकर्ताको पैसा सुरक्षित राख्ने दायित्व एकातिर छँदैछ । अर्कोतिर बैंकले जर्मनीको एक सेक्युरिटी अडिट गर्ने कम्पनीलाई बोलाएर अडिट गरायो । त्यसको निष्कर्ष आयो, एनएमबी बैंक हरेक तवरले सुरक्षित छ । आइएसओ मान्यता मान्यता प्राप्त बैंकको प्रमाणपत्र पनि पायो । ‘बैंक अफ दी इयर’को पटक पटक मान्यता पाएको सो बैंकले सुरक्षाका लागि दुई–चार करोडको लोभमा फसेको छैन । केही रकम लोभ गर्दा ठूलो नोक्सानी व्यहोर्ने पक्षमा छैन बैंक ।

शक्तिशाली केसी

अन्य बैंकका प्रमुख कार्यकारी अधिकृतभन्दा काम गर्ने सन्दर्भमा एनएमबी बैंकका प्रमुख कार्यकारी शक्तिशाली छन् । करिब ८० प्रतिशतभन्दा बढी ऋणको निर्णय गर्ने क्षमता केसीसँग छ । व्यवस्थापनले पनि केसीलाई स्वतन्त्र निर्णय गर्ने अधिकार दिएको छ । सुशासनमा अब्बल रहेको बैंकमा व्यावसायिक वातावरण छ । विदेशी लगानीकर्ता एफएमओले पनि त्यही सिकाएको छ । सरकारी स्वामित्वको कर्मचारी सञ्चयकोषको निर्देशक पनि सञ्चालक समितिमा छन् ।

बैंकका  संस्थागत लगानी बढी भएकाले पनि बोर्ड र व्यवस्थापनको बीचमा हुनुपर्ने सम्बन्ध सुमुधुर छ । विश्वासको मात्रा बढी छ । दैनिक काम कारवाहीमा सञ्चालक समिति लाग्नु हुँदैन, नीतिगत र दीर्घकालीन निर्णयमा लाग्नुपर्छ भन्ने संस्कार स्थापित छ ।

जसका कारण पनि निर्णय क्षमताका हिसाबले प्रमुख कार्यकारी अधिकृत केसी शक्तिशाली हुनुहुन्छ । केसीले ऋणको निर्णय गर्ने अधिकतम अधिकार शाखा प्रमुखलाई पनि दिनुभएको छ । उच्च व्यवस्थापनका कर्मचारीसँग सुमधुर सम्बन्ध छ जसले संस्थागत हितमा निर्णय गर्छ । कसलाई ऋण दिने, ब्याजदर कति हुनेजस्ता विषयमा सञ्चालक समिति लाग्दैन ।

पछिल्ला तीन–चार वर्षको अवधिमा एनएमबीले विभिन्न पाँच वटा विकास बैंकलाई आफूमा समाहित गरायो । त्यसले पनि विश्वासको वातावरणलाई थप मजबुत बनाएको छ । जनतामा विश्वास बढेको छ । समृद्धिका लागि एनएमबी बैंक भन्ने नारा आम रुपमा स्थापित भएको छ । मर्ज गर्दा वा प्राप्ति गर्दा समस्या के कस्ता हुँदा रहेछन्, हाम्रो अर्को प्रश्न थियो । विभिन्न मनोविज्ञानमा काम गर्ने कर्मचारीलाई एउटै व्यवहारमा ल्याउने कुरा सबैभन्दा जटिल विषय हो ।

फरक प्रणाली र कार्यशैली भएका कर्मचारीलाई एकै ठाउँमा ल्याएर काम गराउनु जटिल विषय हो, तेरो र मेरो भन्ने हुँदोरहेछ”, उहाँले अनुभव सुनाउनुभयो, “राम्रो योजना भएन भने जटिलता हुन्छ तर हामीले सबैलाई मिलाएर ल्याएका छौँ । कर्मचारीलाई तेरो र मेरो भन्ने गरेका छैनौँ । फरक चिन्तनमा काम गर्नेको मनोविज्ञान बुझेर परिचालन गरेका छौँ । सांस्कृतिक रुपमा एक ठाउँमा ल्याउने विषय सबैभन्दा महत्वपूर्ण रहेछ”, उहाँले भन्नुभयो ।

फाइनान्स कम्पनीबाट सन् २००८ मा वाणिज्य बैंकमा स्तरोन्नति भएको हो, एनएमबी । विकास बैंक र फाइनान्स कम्पनीसँग मात्रै मर्ज गरेर आफ्नो उपस्थिति देशभर पु-याएको छ । नेपालमा विदेशबाट ऋण ल्याउने बैंकको पहिचान पनि बनाएको छ । बैंकले राम्रै नाफा कमाएको छ । केन्द्रीय बैंकले तोकेका रु आठ अर्ब चुक्ता पूँजी भए पुग्नेमा अहिले रु १४ अर्ब पुगेको छ ।

नेपाली बैंक पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा गएर स्रोत जुटायो । नेपालका बैंकहरुको अन्तर्राष्ट्रिय मान्यताप्राप्त स्थापित संस्थाबाट रेटिङ भएको थिएन । त्यसैले सबैका लागि त्यो नयाँ काम थियो तर अप्ठेरासँग जुधेर बैंकले विदेशबाट पैसा ल्यायो र लगानी गरेको सगौरव बताउनुहुन्छ केसी । “विदेशीले पनि पत्याउँदा रहेछन, पैसा ल्याउने हैसियत पनि राख्दोरहेछ भन्ने सन्देश प्रवाह भयो । त्यस्तो सन्देश प्रवाहले अन्य प्रकारका व्यवसाय विस्तारका लागि हामीले अवसर पायौँ”, उहाँले भन्नुभयो ।

बैंकले ऋणको किस्ता भुक्तानी गर्न थालिसकेको छ । रु ३० खर्ब निक्षेप भएको बजारमा चार–पाँच  अर्ब विदेशबाट ल्याउँदैमा खासै अर्थ राख्दैन तर नजिर स्थापना गर्ने कुरा नै महत्वपूर्ण थियो । विदेशबाट ऋण ल्याउने बेलामा एनएमबीको डिडिए गरियो । त्यसले पनि धेरै कुरा सिकायो बैंकलाई । त्यो घटनालाई कोसेढुङ्गाका रुपमा लिनुहुन्छ केसी ।

एफएमओका अधिकारी एनएमबी बैंकको सञ्चालक समितिमा छन् । सञ्चालक समितिमा आउने व्यक्तिसँग संसारभरको ठूलो बैंकिङ अनुभव छ । त्यस्तो व्यक्तिबाट हामीले केही नयाँ कुरा सिक्ने अवसर पाएको उहाँको भनाइ छ । विदेशी साझेदारले संस्थागत सुशासनमा बढी जोड दिन्छन् ।

नेपाली बैंकहरुको व्यवसाय खासगरी नेपालभित्र मात्रै केन्द्रित छ । नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि नेपाली बैंकहरु बहुराष्ट्रिय बैंकसँग नै निर्भर छन् । नेपालको निर्यात तथा आयात व्यापारलाई अझै सहजीकरण गर्ने हो भने नेपालका बैंकहरुले विदेशका महत्वपूर्ण र व्यापारिक हिसाबले रणनीतिक महत्वका बजारमा उपस्थिति जनाउनु अत्यावश्यक छ ।