Thursday, 22, October, 2020 info@saipalnews.com

कांग्रेस सांसद चौधरीविरुद्ध ठगी गरेको भन्दै सचिवालयमा उजुरी

माघ २१ काठमाडौं । प्रतिनिधिसभाकी एकजना सांसदले ठगी गरेको भन्दै संसद सचिवालयमा उजुरी परेको छ । कांग्रेस सांसद पार्वता डिसी चौधरीविरुद्ध सचिवालयमा उजुरी परेको हो ।दाङको तत्कालीन गढवा गाविसका कांग्रेस उपसभापति समेत रहेका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले सांसद चौधरीमाथि ८ लाख ठगी गरेको आरोप लगाउँदै उजुरी दिएका हुन् । संसद सचिवालयले उजुरी दर्ता भएको, तर यसबारे के गर्ने भन्ने जानकारी नभएको बताएको छ ।

सांसद चौधरीले २०७४ सालमा शुरुमा तीन लाख र पछि ५ लाख समेत गरी आठ लाख रुपैयाँ लिएकोमा पटक(पटक आग्रह गर्दा पनि फिर्ता नदिएपछि उजुरी गर्नु परेको पाण्डेले बताए । पार्टीमा पटक(पटक उजुरी गर्दा पनि सुनुवाई नभएपछि संसद सचिवालय गुहार्नुपरेको उनको भनाइ छ ।सांसद चौधरीले योजना पारिदिने भन्दै त्यसवाफत अग्रिम कमिसन माग्ने गरेको दाङका जनप्रतिनिधिहरु बताउँछन्

चौधरीलाई उनको एभरेष्ट बैंकको खातामा दुईपटक रकम पठाएको भौचरसमेत सचिवालयमा पेश गरिएको उनीहरुले बताएका छन् । विश्वासको सम्बन्धका कारण पार्टीको नेतालाई दिएको पैसा फिर्ता नगरेपछि कानुनी कारबाहीको लागि जानुपरेको पाण्डेले बताए ।संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर सोमबार दर्ता गरिएको उजुरीमा सांसद चौधरी आफूहरुको सम्पर्कमा आउन नचाहेकाले उनलाई झिकाएर रकम दिलाइदिन आग्रह गरिएको छ ।

यसबारे सोध्न अनलाइनखबरले सम्पर्क गर्न खोज्दा सांसद चौधरीको एउटा मोबाइल स्वीच्ड अफ गरिएको छ भने अर्को नम्बरमा फोन उठेन । संसद सचिवालयका एक अधिकारीले यस्तो खाले उजुरी पहिलोपटक आएकाले सभामुखसँग छलफल गरिने बताए ।

सांसद चौधरीले योजना पारिदिने भन्दै त्यसवाफत अग्रिम कमिसन माग्ने गरेको दाङका जनप्रतिनिधिहरु बताउँछन् । दाङका एक कांग्रेस नेताले भने, ‘२०७४ सालमा उहाँले कमिसन भन्दै १९ लाख रुपैयाँ माग्नु भएको थियो । साथीहरुले केही रकम दिए पनि, तर उहाँले योजना दिन सक्नु भएन । त्यसपछि रकम दिएकाहरुले फिर्ता माग्न थालेपछि यो घटना सार्वजनिक भयो ।’

  • अनलाइनखबर