Thursday, 22, April, 2021 info@saipalnews.com

वामदेव गौतमको एक्सन प्रदेश २ बाट

माघ २१ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा प्रदेश २ मा पार्टी बिघटनको चरणमा पुगेको रिपोर्टिङ पेश भयो । समूहगत छलफलका क्रममा १५ औं समूहबाट प्रदेश २ मा केन्द्रले हस्तक्षेप नगर्ने हो भने नेकपा धराशायी हुने कुरा उठ्यो ।

प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल मिलेर पार्टीको बिधान, अन्तरपार्टी निर्देशन र निर्णयहरु विपरीत मनपरी गरेको भन्दै तत्काल केन्द्रको हस्तक्षेप हुनुपर्ने माग स्वयं केपी ओली र प्रचण्ड निकटका नेताहरुले पनि गरेका थिए ।

बैठकले अन्तिममा प्रदेश २ को विवाद मिलाउने जिम्मा उपाध्यक्ष वामदेव गौतम नेतृत्वको संगठन विभागलाई दिएको छ । यद्यपि केन्द्रीय कमिटी बैठक समापनअघि जवाफ दिने क्रममा प्रचण्डले प्रदेश २ मा नेताहरुबीच केही विवाद देखिए पनि जनमत नेकपाको बढेको भन्दै उपनिर्वाचनमा महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष जितेको प्रसंग झिकेका थिए ।

प्रदेश २ मा शुरुमा प्रदेश पदाधिकारी चयन गर्दा ओलीनिकट सत्यनारायण मण्डल इन्चार्ज र प्रचण्ड निकट प्रभु साह अध्यक्ष बनाइएका थिए । त्यस्तै नारायणकाजी श्रेष्ठ निकट विश्वनाथ साह सहइन्चार्ज र ओली निकट सुमन प्याकुरेल प्रदेश कमिटीको सचिव मनोनित भए ।पछि कार्य बिभाजन गर्दा माधव नेपाल निकट नागेन्द्र चौधरी र प्रचण्ड निकट महेन्द्र पासवान सहइन्चार्ज थपिए । चौधरी र पासवानलाई केन्द्रीय सचिवालयले सहइन्चार्जको जिम्मेवारी दिए पनि इन्चार्ज सत्यनारायण मण्डल र अध्यक्ष प्रभु साहले अहिलेसम्म बैठकमा समेत नबोलाएको प्रसंग केन्द्रीय कमिटीमा उठेको थियो ।

केही समयअघि अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेलको उपस्थितिमा प्रदेश कमिटीले बर्दिबासमा सपथग्रहण कार्यक्रम आयोजना गर्न लागेको थियो । तर मात्रिका यादव, रामचन्द्र झा, नागेन्द्र चौधरीलगायतका नेताहरुले सो कार्यक्रम अवैध भएको भन्दै विरोध गरेपछि अन्तिममा प्रचण्ड र बिष्णु पौडेल गएनन् । अध्यक्ष र महासचिव नगएपछि सपथग्रहण अघि बढाउन खोज्दा झडपनै भएको थियो । त्यसयता प्रदेश २ मा नेकपाका कुनै पनि भेला बैठक र पार्टीका अन्य गतिविधिहरु हुन सकेका छैनन् । राष्ट्रियसभामा राजपासँगको गठबन्धन जिताउन भने सबै पक्षका नेता खटिएर चुनाव जिताए ।

प्रदेशको मुख्य समस्या भनेको स्थानीय अन्तरबिरोध हो । केन्द्रमा केपी ओली समूहमा रहेका नेताहरु प्रदेशमा बिभाजित भएर एउटा पक्ष माधव नेपाल गुटसँग मिलेको छ । त्यस्तै प्रचण्ड गुटका नेताहरु तीन समूहमा रहे पनि प्रभु साहविरुद्धको लडाइमा एकजुट छन् ।केन्द्रका गुटका आधारमा हेर्ने हो भने सत्यनारायण मण्डल, रघुवीर महासेठ, श्रीप्रसाद साह, गंगाप्रसाद यादव, धर्मनाथ साह, सरोज यादव गायतका नेता ओली निकट हुन् । तर, प्रदेशको विवादमा श्रीप्रसाद, गंगाप्रसाद , धर्मनाथलगायतका नेता इन्चार्ज मण्डलको विपक्षमा छन् ।

पार्टी संगठननै बिघटनको अवस्थामा पुर्‍याउन प्रदेश इन्चार्ज मण्डलको मुख्य भूमिका रहेकाले आफू विपक्षमा उभिनु परेको केन्द्रीय सदस्य साहले बताए । मण्डल, प्रभु शाह र समुन प्याकुरेल मिलेर पार्टी बिधान र निर्देशन विपरीत पार्टी सदस्यनै नरहेका व्यक्तिलाई प्रदेश कमिटीमा ल्याएको प्रमाणनै केन्द्रीय कमिटीमा पेश गरिएको उनको भनाइ छ ।

एउटै जिल्ला कमिटीमा यसअघि निर्वाचि २५ जनासम्म सदस्य हटाएर मण्डल प्रभु साह समूहले पार्टी सदस्यसमेत नरहेका अवैधानिक व्यक्तिहरुलाई जिल्ला सदस्य बनाएकाले ती कुनै पनि निर्णय मान्य नहुने उनीहरुले बताएका छन् । रौतहटमा मात्रै माधव नेपाल निकट २५ जिल्ला कमिटी सदस्य हटाइएको छ ।

प्रदेश २ मा तत्कालीन एमालेभित्र माधव नेपाल पक्ष बलियो थियो । तर, पछिल्लो समय ओली पक्षको पनि मण्डल समूहले प्रभु साहसँग मिलेर नेपाल पक्षलाई सिध्याउन खोज्दा समस्या आएको छ । पूर्वमाओवादीमा पनि रामचन्द्र झा,मातृका यादवलगायतका नेताले प्रभु साहको एकलौटीविरुद्ध मोर्चा कसेका छन् ।

अहिले नेकपाको प्रदेश २ मा प्रदेश पदाधिकारीविरुद्ध माधव नेपाल पक्ष एकजुट भएर उभिएको छ भने केपी ओली र पूर्वमाओवादी समूहका आधा जति नेता पनि विपक्षमा छन् । सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु साह र सुमन प्याकुरेलविरुद्धको मोर्चाबन्दी बलियो रहेको साहले बताए । सहइन्चार्ज विश्वनाथ साह तटस्थ जस्ता देखिन्छन् ।

वामदेवको एक्सन प्रदेश २ बाटै

यसैबीच नेकपा उपाध्यक्ष तथा संगठन विभाग प्रमुखले आफ्नो पहिलो एक्सन प्रदेश २ बाटै सुरु हुने बताएका छन् । कर्णाली प्रदेशका दैलेखे, जुम्ला, सल्यानलगायतका जिल्लाको विवाद समाधानका लागि आग्रह गर्न पुगेका नेताहरुसँग गौतमले पहिले प्रदेश २ बाट समस्या समाधान थाल्ने बताएका हुन् ।

हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी एकताका क्रममा बिभिन्न जिल्लामा उत्पन्न समस्या समाधानको जिम्मा संगठन बिभागलाई दिएको छ । बिभागले सबैभन्दा पहिला प्रदेश २ बाट काम थाल्ने गौतमले बताएका केन्द्रीय सदस्य तथा विदेश बिभाग प्रमुख बिष्णु रिजालले जानकारी दिए ।प्रदेश २ मा विवादका कारण कमिटीहरुले वैधानिकता समेत नपाएको र सपथग्हण समेत नभएकाले संगठन विभागको ध्यान त्यसतर्फ गएको गौतमले बताए । संगठन बिभागले विधान र पार्टी नीति निर्देशन विपरित भएको भेटिए प्रदेश कमिटीका निर्णयहरु समेत बदर गर्ने अधिकार पाएको छ ।

दलको नेता हटाउने गृहकार्य

नेकपाको प्रदेश कमिटी र जिल्ला कमिटीमात्र होइन प्रदेशसभा संसदीय दलमा समेत ठूलो विवाद छ । प्रदेश कमिटी विवादको प्रभाव दलमा समेत देखिएको हो । प्रदेश इन्चार्ज मण्डल प्रदेशसभामा विपक्षी दलको नेता समेत छन् ।पार्टीको विवाद चर्किदै जाँदा उनलाई संसदीय दलको नेताबाट हटाउने गृहकार्य समेत चलेको नेकपा स्रोतले जनाएको छ । सत्रुघन महतो, मन्जु यादवलगायतका नेताहरुलाई मण्डलले कारबाहीको धम्की दिएका थिए ।मण्डललाई दलको नेताबाट हटाउन बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षर संकलनका लागि गृहकार्य भइरहेको एक नेताले बताए । प्रदेश २ को प्रदेशसभामा नेकपाका ३२ सांसद छन् । मण्डललाई हटाउन १७ सांसदको हस्ताक्षर चाहिन्छ ।

पूर्वमाओवादीभित्रको एउटा समूह पनि मण्डल हटाउन चाहान्छ । प्रचण्ड चुप लाग्ने हो भने मण्डललाई हटाउन आवश्यक संख्या पुग्ने दाबी अर्को पक्षको छ । तत्कालीन एमालेमा सत्रुघन महतोलाई पराजित गरेर मण्डल दलको नेता बनेका थिए ।पार्टी एकतापछि प्रदेश इन्चार्ज समेत रहेकाले मण्डललाई नै दलको नेता कायम गरिएको थियो । प्रदेश २ मा सरकार ढालेर राजपासँग मिलेर मण्डल मुख्यमन्त्री बन्न खोजिरहेका छन् ।

  • अनलाइनखबर