Thursday, 24, September, 2020 info@saipalnews.com

सुदूरपश्चिम प्रदेशसभा : जनताको जिउधनको सुरक्षा गर्न ध्यानाकर्षण

माघ २३ कैलाली । सुदूरपश्चिम प्रदेशसभाका सदस्यले अछाम जिल्लामा निर्वाचित वडाध्यक्षको हत्या घटनाले स्थानीयवासी आतङ्कित भएको भन्दै घटनाका दोषी पत्ता लगाई कानूनी कारवाही गर्न ध्यानाकर्षण गराउनुभएको छ ।आजको प्रदेश बैठकको शून्य समयमा बोल्ने अधिकांश सदस्यले अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको माघ २१ गते भएको शङ्कास्पद हत्या घटनाले स्थानीयवासीमा त्रास फैलिई वातावरण असुरक्षित भएको भन्दै उक्त घटनाका दोषी यथाशीघ्र पत्ता लगाई कानूनी कारवाही गर्न र जनताको जिउधनको सुरक्षा व्यवस्था मिलाउन सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटना लामो समय भइसक्दासम्म पनि राज्यले दोषी पत्ता लगाउन नसक्दा पीडित पक्षले न्याय पाउन नसकेको र न्यायका लागि दबाब दिन धर्नामा बसेका अधिकारकर्मीमाथि प्रहरी दमन गरिएको भन्दै विरोध गर्नुभयो ।

महिला हिंसाका घटना बढेसँगै डरलाग्दो ढङ्गले आत्महत्याका घटना पनि बढेको भन्दै महिला सदस्यले हिंसाका घटना रोकथामका लागि आवश्यक पहल गर्न माग गर्नुभयो । उहाँहरुले कैलाली र कञ्चनपुर जिल्लामा नक्कली गरिमा र सिन्धुरी जातको धानखेती गरेर ठगिएका किसानलाई क्षतिपूर्ति दिनुपर्ने, हिमाली क्षेत्रमा पटक–पटक भएको हिमपात र वर्षाका कारण बालीमा पुगेको क्षतिबाट पीडितलाई राहत दिन, डडेलधुरा अस्पतालमा सहज र गुणस्तरीय उपचार व्यवस्था मिलाउन, कोरोना भाइरसको सङ्क्रमण नेपालमा फैलिन नदिनका लागि समयमै आवश्यक तयारी गर्न माग गर्नुभयो ।

उहाँहरुले सामाजिक विकास मन्त्रालयमा भएको भनिएको भ्रष्टाचारको छानबिनका लागि सर्वदलीय छानबिन समिति गठन गर्न, बैठकको शून्य समयको महत्व बुझेर उठाइने मुद्दाको सुनुवाइ गर्न, प्रदेशसभाले निर्माण गरेका कानून कार्यान्वयन भए÷नभएको भन्ने विषयमा गम्भीर हुनसमेत ध्यानाकर्षण गराउनुभयो ।

शून्य समयमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपाका अक्कलबहादुर रावल, अमरबहादुर साउद, पूर्णा जोशी, मानबहादुर धामी, र प्रतिपक्ष नेपाली काँग्रेसका डा रणबहादुर रावल, दिव्यश्वरी शाह, कर्णबहादुर मल्ल, श्यामलाल रानाथारू र राष्ट्रिय जनता पार्टीका मालामतीकुमारी रानाथारूले बोल्नुभएको थियो ।

बैठक प्रारम्भ हुनसाथ समय माग्दै सदस्य दुर्गाकुमारी कामीले अछाममा वडाध्यक्षको हत्या घटनाका दोषीलाई तत्काल कानूनी दायरामा ल्याई कारवाही गर्न माग गर्नुभयो । सभामुख अर्जुनबहादुर थापाले शून्य समयमा उठेका प्रश्नको एक हप्ताभित्र सम्बन्धित मन्त्रीलाई जवाफ दिने व्यवस्था गर्न ‘रुलिङ’ गर्नुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी पेश गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । अर्को बैठक यही माघ २९ गते दिनको १ः०० बजे बस्ने छ ।