Thursday, 03, December, 2020 info@saipalnews.com

सामुदायिक वनमा मेयर चौधरीको गिद्धे नजर

माघ २४ धनगढी । कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले सामुदायिक वनको जमिन जवरजस्ती हड्पेर नगरपालिकाको भवन निर्माण शुरु गर्न थाले छन् ।  सामुदायिक वन उपभोक्ता समुह र पहलमानपुर  वन डिभिजन कार्यालयले अनुमती नदिंए पनि प्रमुखले निरंकुश शैलीमा भवन निर्माण गर्न लागेको स्थानीयले आरोप लगाएका छन् ।

शिवशक्ती सामुदायिक वन उपभोक्ता समुहको संरक्षणमा सुखड बजारको उत्तरतिर पर्ने  जमिनमा बुधबार वन समिति र वन कार्यालयको असहमति भए पनि  मेयर चौधरीले भवन शिलान्यास गरेका  छन् । मेयर चौधरीले बुधबार प्रतिनिधिसभा सदस्य गौरीशंकर चौधरीलाई भवनको शिलन्यास गराएर विवादमा तानेको स्थानीयले बताएका छन् । गैरकानूनी रुपमा निर्माण गर्न लागिएको भवनको जर्वजस्ती माननीयलाई उद्घाटन गराएर विवादमा फसाएको स्थानीयको भनाइ छ ।

यता वन उपभोक्ता समुह र वन कार्यालयले भने सो ठाउँमा वन ऐन अनुसार कुनै पनि ग़ैर कानूनी संरचना निर्माण हुन नसक्ने भन्दै उक्त स्थानमा  कुनैपनी संरचना निर्माण गर्न नदिने पक्षमा उभिएको छन ।

समितिका उपाध्यक्ष खेम जोशीले भने  नगरपालिकाको भवन बन्नु पर्छ, तर सामुदायिक वनको अस्तित्व सखाप पार्ने रणनिती असफल पार्छौ । हाम्रो दायित्व वन संरक्षण गर्ने हो, विनास गर्ने होइन ।

वन डिभिजन कार्यालयले वनको जमिनमा कुनैपनी संरचनाहरु निर्माण नर्गन नगरपालिकालाई पत्राचार समेत गरेको छ । डिभिजन वनअधिकृत कृणदत्त भट्टले भवन निर्माण वन ऐन विरुद्ध भएकाले तुरुन्तै प्रयोग गरीएका डोजर र निर्माण सामाग्री फिर्ता लग्न अनुरोध समेत गरेका छन् । यदि जवरजस्ती निर्माण गर्न थाले  कानून अनुसार अघि बढ्ने वन अधिकृत भटट्ले पत्रमार्फत चेतावनी दिएका छन ।