Thursday, 03, December, 2020 info@saipalnews.com

मछेलीखोलीबाट नदीजन्य बस्तुको अबैध उत्खनन् हुदैँ

माघ २५ धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ ग्वाँसीसमैजी सामुदायिक बन उपभोक्ता समुह क्षेत्रमा पर्ने मछेली खोलाबाट अबैधरुपमा नदीजन्य बस्तुको उत्खनन् तथा चोरी निकासी भैरहेको छ । सो क्षेत्रको वातावरणीय प्रभाव मुल्यांकन नगरी सम्बन्धित निकायको अनुमतिविना हेवी उपकरणको प्रयोग गरेर नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर चोरी निकासी भएको हो ।

नदीजन्य पदार्थको उत्खननकालागि जिल्ला समन्वय समिति र सम्बन्धित स्थानीय निकायसँग सम्झौता गर्नुपर्ने व्यवस्था भए पनि खोलामा नदीजन्य पदार्थको उत्खनन र निकासीकालागि कसैले पनि अनुमति नलिएको पाइएको छ । सम्झौता वीना डोजर, ब्याकलोडरको प्रयोग गरेर उत्खनन गर्नु अवैध काम भएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।

तस्करहरूले केही दिनयता अनुमतिविना नदीको धार र स्वरुप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गर्दै आएका छन् । जथाभावी रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दा नदीको धार परिवर्तन भई कटानको जोखिम र भुछयको डर बढेको भन्दै स्थानीय डिभिजन बन कार्यालय वाणि तथा जिल्ला बन कार्यालय कञ्चनपुर र नगरपालिकालाई निवेदन दिँदा समेत सरोकारवालको ध्यान नगएको स्थानीयले गुनासो गरेका छन् ।

जिल्लाका अन्य स्थानमा समेत अबैध रूपमा नदी उत्खनन गरेर  क्रसर सञ्चालन भइरहेका छन् । ती क्रसर संचालकले समेत सम्झौता नगरेरै डोजर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गरेको स्थानीयवासीले गुनासो गरेका छन् । चुरेसंग जोडिएका कारण नदी गहिरिएर वरपरका बस्ती र जमिन कटानको जोखिममा परेको गुनासो उनीहरुको छ ।