Thursday, 03, December, 2020 info@saipalnews.com

सिन्धुपाल्चोकमा १०० भन्दा बढी बिरामी कोरोनाको आशंका

माघ २९काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् । गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

गुगल म्यापमा जुगल गाउँपालिका

बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन् । त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

माघ २३ गतेदेखि केही व्यक्तिमा रुघा र उच्च ज्वरो देखा परेको र उक्त संख्या मंगलबार बढेर १०० नाघेको श्रेष्ठले बताए । फोनमा ईकान्तिपुरसँग कुरा गर्दै उनले भने, २३ गतेदेखि केही व्यक्तिमा ज्वरो र रुघाखोकी देखिएको थियो । उक्त संख्या मंगलबार बढेर सय नाघ्यो । अवस्था पनि गम्भीर बन्यो त्यसैले हामीले पत्र लेखेका हौं ।

एकै गाउँका स्थानीय बिरामी परेको बताएका श्रेष्ठले तत्कालका लागि गाउँपालिकासँग भएको जनशक्ति पठाइएको बताए । हामीसँग भएको जनशक्ति, औषधि पठाएका छौँ । यहाँ मेडिकल सानासाना छन्, मेडिकलबाट केही जनशक्ति पठाएका छौं, उनले थपे,हामीले बिहानदेखि परीक्षणका लागि आग्रह गरेका हौं र थप बल पुगोस् भनेर पत्र पठाएका छौं । हाम्रो टोली उक्त ठाउँमा गएको छ । गाउँपालिकामा विशेषज्ञ चिकित्सक भएको अस्पताल छैन । हेल्थपोस्टहरूबाट मास्क लगेर वितरण गरेका छौं ।

बिरामीको अवस्थाबारे श्रेष्ठले भने,एम्बुलेन्स लिएर गएका थियौं । केहीको अवस्था त्यसमा बस्न सक्ने पनि छैन । कोरोनाको संक्रमण हो कि होइन भनेर पनि चाँडै चेक त गर्नुपर्‍यो ।

संघीय सरकारका निकायहरूमा सम्पर्क गर्दा चीनबाट उक्त ठाउँमा मान्छे नगएकाले आत्तिन नहुने जवाफ मिलेको श्रेष्ठले बताए । उनले भने, केन्द्रमा पनि सम्पर्क गरेका छौं। यो समाचार कान्तिपुरमा छ । चीनबाट मान्छे आउने जाने नभएको भएपछि चेक गरिहाल्नु पर्दैन भन्नुभयो । भाइरल सबैतिर छ आत्तिइहाल्नु पर्दैन भन्ने कुरा छ उहाँहरूको । बुधबार बिहान एमबीबीएस डाक्टरलाई लगेर उक्त ठाउँमा जान लागेको उनले जानकारी दिए ।