Saturday, 19, June, 2021 info@saipalnews.com

पुरातत्वको टोली ऐतिहासिक गर्भादरबारमा

माघ २९ कैलाली । कैलालीको चुरेगाउँपालिका ४ मा रहेको ऐतिहासिक गर्भादरबारमा पुरातत्व विभागको एक टोली पुगेको छ । सुदूरपश्चिम प्रदेश सरकारका पुर्व सामाजिक विकास मन्त्री तथा कैलाली निर्वाचन क्षेत्र ४ का प्रदेश सभा सदस्य  दीर्घ सोडारीको पहलमा विभागको टोली गर्भादरबार पुगेको हो ।

ऐतिहासिक दरबारको खोज अनुसन्धान तथा पुनःनिर्माणको लागि सम्भाव्यता अध्ययन गर्न टोली गर्भा पुगेको पछि एक सय वर्ष पुरानो दरबारको उत्खन्न तथा दरबारको पुर्नः निर्माणको लागि पुरातत्व विभागले आवश्यक प्रक्रिया शुरू हुने पुरातत्व विभागकि सविता न्यौपानेले जानकारी दिइन् ।

राणाकालिन दरबारको संरक्षण तथा सम्वर्धन गरेर पर्यटकीय क्षेत्रमा ठुलो टेवा पुग्ने भन्दै दरबारको संरक्षणमा आफु लागेको पुर्व मन्त्री सोडारीले बताए । उनले भने‘ सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको ऐतिहासिक दरबार पुनःमर्मत गर्न जरुरी भएको भन्दै पूर्व मन्त्री सोडारीले राणाकालीन शैलीमा निर्माण हुने दरवार सरकारले अब छिट्टै पुनः निर्माणको कार्य शुरु गर्नु पर्ने बताए  ।

यसअघि प्रदेश सरकारले दरवार पुन निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेपनि खर्च हुन सकेको थिएन। अब,पुरातत्व विभागले सरकारलाई प्रतिवेदन बुझाएपछि काम शुरु हुन्छ उनले भने । यस्तै टोलीमा संविधान सभा सदस्य गरिमा शाह, सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कल रावल, महेशदत्त जोशी, कृष्ण चौधरी, चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोक्का गर्भा दरवार क्षेत्र पुगेका थिए ।

कैलाली निर्वाचन क्षेत्र ४ ख अन्तर्गत पर्ने सो दरबारको बेग्लै ऐतिहासिक महत्व छ । खड्क सम्शेरका छोरा बहादुर शम्सेरपछि गर्भा दरवार बहादुर शम्सेरका साहिँला छोरा तेजप्रकाश सम्शेर जबराको भागमा परेको स्थानीय जानकार बताउँछन् । राणाशासनको अन्त्यपछि पनि शाशकहरु बसेको उक्त दरबारमा २०३३ सालपछि भने कोही पनि बास नबसेको बताइन्छ ।

खैराला हावापानी, मौसम र भौगोलिक रुपमा अत्यन्त उपयुक्त भएकाले राणा शासकहरूले गर्भालाई रोजेको हुनसक्ने बुझाई स्थानीय बासिन्दाको छ । मास पिसेर त्यसबाट चुनाई गरिएको गर्भा दरबारमा ८३ झ्याल, ५३ ढोका छन् ।

१० रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार तीन खण्ड र तीन तले छ । सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुईतले सुरुङ समेत बनाइएको छ । जो अहिले पुरिँदै गएको छ । राणा शासकहरू खैरालाको दरबारबाट बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको इतिहास खैरालाका बुढापाका बताउँछन् ।