Thursday, 29, October, 2020 info@saipalnews.com

नेपालीको भारतमा गोली प्रहार गरी हत्या

फागुन १ सप्तरी ।  एक युवकको भारतमा गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्बर १० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो ।बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका यादव ग्यारेजकै कामका निम्ति भारतको झन्झारपुर गएका थिए । ग्यारेज मालिक सत्येन्द्र यादवले राखेको भारतीय नम्बरको स्कारपियो गाडीमा झन्झारपुर गएका उनीमाथि फर्किंदै गर्दा मंगलबार गोली प्रहार गरिएको हो ।

घटना भएको समयमा सत्येन्द्रका भाइ सुरेन्द्र र बोदेबर्साइन ८ का अनिल यादवसँगै रहेका थिए । सत्येन्द्रले नै प्रयोग गर्ने भारतीय नम्बर प्लेटको स्कारपियो लिएर गएका उनलाई घर फर्कने क्रममा पछाडिबाट मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरेको पारिवारिक स्रोतको भनाइ छ ।

पहिलो गोली स्कारपियोको टायर र दोस्रो गोली डम्बरलाई लागेको थियो । डम्बरको शवलाई नेपाल ल्याएर बुधबार अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । अनलाइनखबरबाट साभार