Saturday, 19, September, 2020 info@saipalnews.com

भगवतीको लागि जमिन किन्ने अभियान शुरु

फागुन ४ काभ्रे । पाँचखाल नगरपालिका पलाञ्चोकस्थित भगवती मन्दिरमा थप संरचना निर्माण गर्न करिब ३ करोडको जमिन खरिद गर्ने अभियान शुरु गरिएको छ । महायज्ञ तथा अन्य सहयोगबाट रकम संकलन गरी मन्दिरको उत्तरपूर्वमा रहेको जग्गा खरीद गर्न लागिएको हो । हाल पार्किङका लागि प्रयोग हुँदै आएको जग्गा निजी जग्गा भएकोले पलाञ्चोक भगवतीको स्वामित्वमा ल्याउन अभियान थालिएको छ ।

आगामी चैत्र १८ गतेबाट महायज्ञ गरी आवश्यक आर्थिक संकलन गर्ने जानकारी मन्दिर व्यवस्थापन समितिले पत्रकार सम्मेलनमार्फत दिएको छ । मन्दिरका लागि नगर कार्यालयले चालू आर्थिक वर्षमा ३० लाख रकम छुट्याएको छ भने नगरप्रमुख महेश खरेलले १ लाख ८ हजार सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

मन्दिरका लागि विभिन्न व्यक्तिका नामको ५ रोपनी ५ आना जग्गा करिब ३ करोडमा खरिद गर्न लागिएको हो । शक्तिपीठका रूपमा मानिँदै आएको मन्दिर परिसरमा गरिने यज्ञमा भक्तजन एवं दाताबाट करिब ५ करोड संकलन हुने अपेक्षा छ । जग्गा प्रतिआना ३ लाख हाराहारीमा किन्ने सहमति गरी बैना गरिएको छ ।

नगरप्रमुख खरेलका अनुसार जग्गाधनी र समितिबीच जग्गा लिनेदिने सहमति भएको हो । उक्त जग्गामा मन्दिर विकास समितिले व्यवस्थित पार्किङ, सभाहल, विवाह तथा अन्य शुभकार्यका लागि भवन र व्यवस्थित शौचालय निर्माण गरिने योजना बनाएको छ । हाल मन्दिर विकास कोषमा ४० लाख रहेको वडाध्यक्ष किरण श्रेष्ठले बताए ।

पलान्चोक भगवती मन्दिर लिच्छविकालीन राजा मानदेवको पालामा निर्माण गरिएको लगाएको मानिन्छ । वि.सं.२०३२ मा तत्कालीन सरकारले मन्दिर जीर्णोद्वार गरेको थियो । २०७२ साल को विनाशकारी भूकम्पबाट क्षति भएको मन्दिर हालै मात्र पुनर्निर्माण गरिएको हो ।