Tuesday, 29, September, 2020 info@saipalnews.com

साँसद लालबहादुर थापाको निर्देशनमा पत्रकार बिक पक्राउ

फागुन ५ बाजुरा ।  सांसद लालबहादुर थापाको निर्देशनमा नेपाल पत्रकार महासंघ बाजुरा शाखाका सचिव तथा नागरिक रैबार डटकमका सञ्चालक प्रेम बिकमाथी प्रहरीले दुरव्यहार गरेको छ । फेसबुकमा स्टाट्स लेखेको भरमा सांसद थापाले विकलाई पक्राउ गर्ने  प्रहरीले निर्देशन दिएपछि पत्रकार विकलाई प्रहरीले आइतबार साँझ  केरकारको लागि भन्दै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा   पु-याएको थियो ।

बाजुराबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य तथा बाजुरा इन्चार्ज लालबहादुर थापाको निर्देशनमा पत्रकार विकलाई केरकार गर्न प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बाजुराको बडीमालिका नगरपालिका ९ मार्तडीस्थित नागरिक रैबार डटकमको कार्यालय रहेको सचिब बिकको घरमा प्रहरी छिरेर सांसद थापाको निर्देशनमा फक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको सचिव विकले बताए । आइतबार दिउसो पत्रकार विकले फेसबुकमा लेखेको स्ट्याटसलाई लिएर सांसद थापाको निर्देशनमा प्रहरीले पत्रकार विकलाई नियन्त्रणमा लिएको थियो।

“माननीयज्यूले केरकार गर्न भनेपछि हामीले सचिव विकलाई कार्यालयमा ल्याएका हौं” जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले भने, ‘अहिले घर फर्किसक्नु भयो ।’ पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह, आन्तरिक मामिला तथा कानुन मन्त्रीका स्वकीय सचिव जंग विक लगायतको अनुरोधमा प्रहरीले पत्रकार विकलाई छाडेको थियो । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट यस्तो घिन लाग्दो काम भएको भन्दै विभिन्न संघ संस्थाहरुले र बाजुराका जनताले सांसद थापाको चर्काे विरोध गरेका छन् । सांसद थापा विगतदेखि नै बाजुराका पत्रकारहरुलाई निसाना बनाउँदै आएका छन् । उनले पटक पटक विभिन्न पत्रकारहरुलाई त्रसित गराउँदै आएको बाजुराका पत्रकारहरु बताउँछन् ।

‘बाजुरामा विगतदेखि नै अघोषित सेन्सरसिप जस्तै अवस्था छ’ पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष अर्जुन शाहले भने, ‘सार्वजनिक अहोदामा रहेका जनप्रतिनिधिहरुलाई जनताले गुनासाहरु राख्ने, टिप्पणी गर्ने, आलोचना गर्ने, सुझाव दिने, अपेक्षा राख्नु स्वभाविक हो । तर बाजुरामा त समाचार लेख्नु त के, कुनै टिप्पणीसम्म गर्ने हिम्मत कुनैपनि पत्रकारले राख्नसक्ने अवस्था छैन ।

कसैको पनि व्यक्तिगत मर्यादामा आँच आउने र गाली गलौज गर्नु गलत तथा कानुन विपरीत हुने भएपनि सामाजिक तथा सार्वजनिक सरोकार सम्वद्ध टिप्पणी र आलोचना नै गर्न पाइदैन भन्ने मनोभावना अनुचित भएको अध्यक्ष शाहले बताए । उनले पत्रकार विकलाई प्रहरीले नियन्त्रणमा लिएको सुनिन आएको बताउँदै घटनाक्रमबारे अध्ययन गरिरहेको जानकारी दिएका छन् ।