Sunday, 20, September, 2020 info@saipalnews.com

टोलटोलमा गई जनताका सुखदुखमा साथ दिन्छ : नेता बिष्ट

फागुन ५ अछाम । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य जोरासिंह बिष्टले नेकपा अब टोलटोलमा गई जनताका सुखदुःखमा साक्षात्कार गर्ने बताउनु भएको छ । पार्टी एकीकरणको काम अन्तिम चरणमा पुगेको र गाउँ बस्तीसम्म पार्टीका संगठन बनिरहेकाले नेकपा जनताका सुखदुःखमा संगै अघि बढीरहने उहाँको भनाई छ ।

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ धमालीमा जारी नेकपाका टोलभेलामा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाँले नेकपाले जनताका लागि विभिन्न राहतका कार्यहरु ल्याईरहेको दाबी गर्नुभयो । अहिले लामो समय शाशन सत्तामा बसी देशलाई अधोगतितर्फ लग्ने नेपाली कांग्रेस बहुमतको सरकार र लोकप्रिय कार्यक्रम देखेर डराएको र विभिन्न कुप्रचार गरिरहेकाले त्यस्तो भ्रममा नपर्न समेत बिष्टले आग्रह गर्नुभयो ।

पाँच बर्ष सरकार सञ्चालनको जिम्मेबारी पाएको सरकारले सामाजिक सुरक्षा भत्तामा बृद्धि, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, सडक, विद्युतीकरण, खानेपानी लगायतका क्षेत्रमा उल्लेख्य काम गरिरहेको भन्दै आगामी कार्यकालमा अझैँ जनतालाई राहत हुने कार्यक्रम ल्याउने समेत दाबी गर्नुभयो । वडा कमिटि अध्यक्ष भिम बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले विभिन्न कुरीति र कुप्रथाका कारण महिला दिदीबहिनीको ज्यानै जान थालेपछि छाउगोठ भत्काउने अभियान सञ्चालन भएको बताउनु भयो ।

कानूनले समेत यो प्रथा मान्ने र मान्न लगाउनेलाई कारबाही गर्ने व्यवस्था गरेको अवस्थामा अहिले नेपाली कांग्रेसले विभिन्न ठाउँमा जनताको घर भत्काएको भन्दै दुष्प्रचार गरिरहेको समेत प्रदेश कमिटि सदस्य बिष्टले बताउनु भयो । कुप्रथा, कुरीति हटाउन समेत नेकपा पहिलेदेखि नै प्रतिबद्ध रहँदै आएकाले जनतालाई भड्काउने उद्देश्यले बोलिएका कुराको कुनै अर्थ नरहने र त्यसको जनताले नै प्रतिबाद गर्ने विश्वास व्यक्त गर्नुभयो ।

धमालीको साबिकका वडा नम्बर ४ र ५ मा तेज नेपाली अध्यक्ष र तारा नेपाली सचिव रहने गरी १९ सदस्यीय टोल कमिटि गठन गरिएको छ । यस्तै साबिक वडा नम्बर ५ र ४ मा धौली धमालाको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी गठन गरिएको छ । भेलामा जिल्ला कमिटी सदस्य धुर्व बिष्ट, अनेरास्ववियु जिल्ला सह संयोजक निरक शाही , गाउँकमिटि सदस्य हरि जैशी, नवराज धमाला, शिक्षक संगठनका ध्रुवराज धमाला लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको संचालन वडा सचिव खगेन्द्र जैशीले गर्नु भएको थियोे ।