Monday, 21, September, 2020 info@saipalnews.com

कारागारबाट निस्किएपछि कृष्ण महराले भने सबै कुरा भन्छु

फागुन ६ काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार दिउँसो काठमाडौं जिल्ला अदालतले सफाइ दिएसँगै उनका सहयोगी र शुभेच्छुकहरू डिल्लीबजार कारागारबाहिर भेला भइसकेका थिए । सत्तारूढ नेकपाका हिमाल शर्मालगायत नेता–कार्यकर्ता महरालाई स्वागत गर्न फूलमालासहित पुगेका थिए ।

सफाइ पाएका महरालाई करिब ३ बजेतिर अदालतबाट सिधै कारागारको ‘क’ ब्लकमा लगियो । त्यहीं रहेका पूर्वआईजीपी रमेश चन्द ठकुरी, सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालालगायतले ‘बधाई छ हजुर’ भन्दै उनलाई स्वागत गरे । चन्द सुडान घोटाला प्रकरणमा र पूर्वडीआईजी कोइराला पत्नी गीता ढकालको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका छन् । करिब ५० जना अट्ने ‘क’ ब्लकको हलमा चन्द र कोइरालासँगै महरा १३३ दिन बसेका थिए ।

दुवै पूर्वप्रहरी अधिकृत उनका रुम पार्टनर थिए । कैदीबन्दीले सोमबार ‘पहिलो पटक महरालाई मुस्कुराएको देखेको’ भन्दै मुखामुख पनि गरे । कहिलेकाहीँ मात्रै घरबाट ल्याएको खाना खाएका महराले यो अवधिमा अधिकांश समय कैदीबन्दीबाट सञ्चालित मेसमा खाना खाएका थिए ।

आफूलाई खाना खुवाउनेदेखि भेटिएका सबैप्रति उनले छुट्ने बेला सहानुभूति देखाए । महराले ‘यो अवधिको बसाइ अविष्मरणीय रह्यो, तपाईंहरूले गर्नुभएको सहयोग र मप्रति देखाउनुभएको सद्भावप्रति धन्यवाद दिन चाहन्छु’ भने । त्यति भनिसकेपछि पूर्वआईजीपी चन्द र पूर्वडीआईजी कोइरालाले खादा ओढाएर बिदाइ गरे । जेलमा ल्याउँदा पनि चन्दले उनलाई स्वागत गरेका थिए ।

२०६८ जेठ १८ मा आईजीपी चन्दलाई जिम्मेवारीबाट मुक्त गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा ल्याउने प्रस्ताव उनै महराले गरेका थिए । त्यसमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सहमति जनाएका थिए । प्रधानमन्त्री खनाल र गृहमन्त्री महराको सल्लाहमा चन्दलाई आईजीपीबाट हटाइएको थियो । एक कर्मचारीका अनुसार घर जानुअघि महरा निकै खुसी देखिएका थिए ।

अदालतले सफाइ दिएपछि उनलाई जेलर अरुण पोखरेलको कार्यकक्षमा लगियो । जहाँ कान्छा छोरा राहुल महरा पर्खिरहेका थिए । जेल प्रशासनमा उनलाई छुटाउने प्रक्रिया चलिरहँदा बाहिर उनको समर्थनमा ठूलो भीड जम्मा भइसकेको थियो ।

२०७६ कात्तिक १८ मा महरालाई पुर्पक्षका लागि कारागार ल्याइएको थियो । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाएको थियो । छोरा राहुलले नै उनलाई जेलसम्म पुर्‍याएका थिए । जेलर पोखरेलले प्रक्रिया पूरा गरेर उनलाई छोराको जिम्मा लगाए । अदालतबाट आएको सवा घण्टापछि बाहिर निस्कँदै गर्दा महराले जेलर पोखरेललाई भने, ‘घरमा जसरी नै बसियो, राम्रो व्यवहार गर्नुभयो, निकै खुसी छु ।’

महरालाई अघि लगाउँदै छोरा राहुल कारागारबाहिर निस्किए । त्यही बीचमा महराले ‘प्रहरी साथीहरू, माननीय रेशम चौधरीलगायतसँग राम्रोसँग बसें, सबैबाट राम्रो व्यवहार भयो, बाँकी कुरा पछि भन्छु’ भने । पार्टीका नेता–कार्यकर्ता र शुभेच्छुकसँग खुसी साट्दै उनी बा१८च ४०० नम्बरको गाडीमा छोरासँगै खुमलटारस्थित डेरातर्फ लागे ।

बालुवाटारस्थित सभामुख निवासबाट असोज १९ मा पक्राउ परेका उनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पुर्‍याउँदा पनि त्यही गाडी प्रयोग गरिएको थियो ।

महरालाई डिल्लीबजार कारागार बसाइका क्रममा करिब १२०० जनाले भेटेका थिए । जेलर पोखरेलका अनुसार उनलाई भेट्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्री देव गुरुङ, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, वरिष्ठ नेता सीपी गजुरेललगायत पुगेका थिए । उनीहरू सबै महराका पूर्वसहकर्मी हुन् ।

तथाकथित आरोप खेपें स् महरा

महराले आफूले ‘तथाकथित’ आरोप खेप्नुपरेको बताएका छन् । जेलबाट छुटेलगत्तै प्रेस विज्ञप्तिमार्फत उनले ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको बताएका छन् । ‘कारागार र प्रहरी हिरासतमा बसी मैले तथाकथित आरोप खेपेको छु, अन्ततः ममाथि लगाइएको आरोप गलत सावित भएको छ,’ उनले भनेका छन्, ‘सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ, म सम्मानित अदालतप्रति विशेष आभार र धन्यवाद व्यक्त गर्दछु ।’ देशभक्त नेपालीका रूपमा मुलुकको रक्षा गर्न आफ्नो पहिलो र उच्च प्राथमिकता रहँदै आएको भन्दै उनले सदैव रहने उल्लेख गरेका छन् ।

पुरुषपीडक कानुनले महरा पीडित स् नेकपा सचेतक

प्रमुख सत्तारूढ दल नेकपाकी सचेतक शान्ता चौधरीले महिलामैत्री कानुन बनाउने क्रममा पुरुषपीडक कानुन पनि बनेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएकी छन् । संसद् सचिवालयमा कार्यरत कर्मचारीमाथि यौनहिंसा गरेको आरोपमा अदालतले पूर्वसभामुख महरालाई सफाइ दिएपछि फेसबुकमार्फत चौधरीले लेखेकी छन्, ‘हामीले महिलामैत्री कानुन बनाउने क्रममा कतिपय अव्यावहारिक र पुरुषपीडक बन्दोबस्तहरू पनि राख्यौं कि रु यो घटनाले सोच्न बाध्य बनाएको छ ।’

चौधरीले अदालतबाट निर्दोष ठहर भएका पूर्वसभामुख कृष्णबहादुर महरामा अविचलित र परिपक्व व्यवहार भएको दाबी गर्दै महरा र उनको परिवारले मानसिक यातना पाएको र मुलुकले नै असहनीय पीडा भोगेको उल्लेख गरेकी छन् । यो समाचार कान्तिपुरमा छ ।