Saturday, 26, September, 2020 info@saipalnews.com

सांसद ज्ञवालीको निधन

फागुन ६ पाल्पा । पूर्वसांसद भागवत ज्ञवालीको ७६ वर्षको उमेरमा मंगलबार निधन भएको छ । ज्ञवालीको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । छाती, फोक्सो र पिसाबमा समस्या देखिएका ज्ञवालीको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार भइरहेको थियो ।

२०४८ सालमा गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य भएका ज्ञवाली नेपाली कांग्रेस गुल्मीको पहिलो सभापतिसमेत हुन् । २०४८ सालको आमचुनावमा ज्ञवालीले तत्कालीन एमालेका प्रभावशाली नेता जीवराज आश्रितलाई हराएका थिए । राजनीतिक साथै शैक्षिक व्यक्तित्व एवं समाजसेवीका रुपमा परिचित ज्ञवाली लामो समयदेखि पाल्पाको तानसेनमा बस्दै आएका थिए ।

लोकतान्त्रिक समाजवादी आन्दोलनका अगुवा रहेका ज्ञवाली २००१ साल मंसिर १ गते गुल्मीको मानकोटमा जन्मेका हुन् । उनलाई आदर्श, निष्ठा र इमानदार नेताका रुपमा चिनिन्थ्यो । तानसेन बहुमुखी क्याम्पसको स्थापना गरेर २०५६ सालदेखि निरन्तर अध्यक्ष थिए । ज्ञवाली पाल्पा तथा गुल्मीका विभिन्‍न सामाजिक शैक्षिक संघ संस्थामा क्रियाशील थिए । यो समाचार कान्तिपुरमा छ ।