Saturday, 19, September, 2020 info@saipalnews.com

एमसीसी कार्यदलले परराष्ट्रबाट कागजात माग्‍न पार्टीलाई लेख्यो यस्तो पत्र

फागुन ७ काठमाडौँ ।अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको अध्ययन गर्न बनेको नेकपाको कार्यदलले परराष्ट्र मन्त्रालयसँग कागजात मागेको छ । नेकपाले वरिष्ठ नेता झलनाथ खनाल संयोजक तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्थायी कमिटी भीम रावल सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

एमसीसी अध्ययन कार्यदलले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो। मन्त्रालयले कार्यदलले माग गरेका कागजात नदिएर असहयोग गरेको थियो। त्यसपछि कार्यदलले पार्टीको सहयोग मागेको हो। कार्यदलले पार्टी महासचिव विष्णु पौडेललाई पत्र लेखेर आवश्यक कागजात उपलब्ध गराउने गरी मन्त्रीलाई निर्देशन दिन माग गरेको छ।

हामीले सबै कागजात उपलब्ध गराइदिन भनेर पार्टी महासचिवलाई पत्र लेखेका हौं,’ कार्यदल संयोजक खनालले इकान्तिपुरसँग भने, ‘परराष्ट्र मन्त्रालयबाट ‘डकुमेन्ट’ उपलब्ध हुनेक्रममा छन्। त्यो आएपछि थप अध्ययन गरेर सुझाव प्रतिवेदन पार्टीमा बुझाउँछौं।’

माघ १५ देखि १९ सम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकमा अहिलेकै अवस्थामा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने र त्यसबारे थप अध्ययन गर्नुपर्ने भन्दै अधिकांश सदस्यले कुरा उठाएपछि केन्द्रीय सचिवालयले कार्यदल गठन गरेको थियो।

आवश्यक अध्ययनपछि एमसीसी सम्झौताबारे निर्णय लिनुपर्छ भन्ने मध्यमार्गी धारमा रहेका वरिष्ठ नेता खनालको संयोजकत्वमा एमसीसीको पक्षमा खुलेर लागेका परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवाली र एमसीसी सम्झौताका विरोधमा देखिएका रावल सदस्य रहेको कार्यदल बनेको थियो। र, कार्यदललाई १० दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको थियो। तर, कार्यदलले प्रतिवेदन बुझाउन सकेन।

बरु थप दस दिनको समय माग गरेर अध्ययन जारी राखेको छ। खनालका अनुसार परराष्ट्र मन्त्रालयबाट एमसीसीसँग सम्बन्धित ‘डकुमेन्ट’ आएपछि त्यसको अध्ययन गरेर फागुन १० गते भित्र सुझाव सहितको प्रतिवेदन पार्टी सचिवालयमा बुझाउने तयारी भएको छ।

  • सम्बन्धित समाचारः
  • एमसीसीबारे बोल्ने अधिकार अध्यक्षद्वयलाई छैनः नेता रावल
  • एमसीसी सम्झौतामा के छ, के छैन ।
  • एमसीसी अध्ययन गर्न नेकपाले बनायो कार्यदल ।