Sunday, 27, September, 2020 info@saipalnews.com

देउवा सहभागि हुने कार्यक्रम एकाएक स्थगित, डडेल्धुरामै किन आएनन् देउवा

डडेल्धुरा ८ फागुन । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको डडेल्धुरा आउने कार्यक्रम एकाएक स्थगित भएको छ । उद्योग वाणिज्य संघ डडेल्धुराको आयोजनामा बिहीबार देखी डडेल्धुरामा संञ्चालन हुन गईरहेको चौथो डडेल्धुरा महोत्सवको उद्घाटनका लागि देउवा डडेल्धुरा आउने कार्यक्रम तय भएको थियो । तर एकाएक देउवाको तय भएको कार्यक्रम स्थगित भएपछि डडेल्धुरामा  विभिन्न चर्चा परिचर्चा सुरु भएका छन् ।

उद्योग वाणिज्य संघ डडेल्धुराको महोत्सवमा जहिले पनि प्रमुख अतिथीका रुपमा डडेल्धुरा पूग्ने देउवाले यसबर्ष भने एकाएक डडेल्धुरा नआउने भनेपनि विभिन्न कोणबाट आकलन गर्न थालिएको छ । कार्य व्यस्तता रहेपनि हेलिकप्टरको प्रयोग गरेरै भएपनि डडेल्धुरा पुग्ने देउवाले यस बर्ष भने अन्तिम चरणमा आएर कार्यक्रम स्थगन गरेपछि आशंका बढेका छन् ।

पहिलो पटक आयोजना गरिएको डडेल्धुरा महोत्सवमा प्रमुख अतिथीमा विवाद भएपछि यसअघि पनि देउवा रोकिएका थिए । तर यसबर्ष भने कुनै विवाद नरहेको भएपनि देउवाले अन्तिममा आएर डडेल्धुरा आउने चासो नै नदेखाएको स्रोतले जानकारी दिएको छ । यसअघि निर्वाचन पश्चात पहिलो पटक डडेल्धुरा पुगेका देउवाको कार्यक्रम स्थलमै कार्यकर्ताहरुले कुर्चि प्रहार गरेदेखि देउवा डडेल्धुराको कार्यमक्रममा आउन डराउने गरेको केही नेताहरु बताउछन् ।

देउवा डडेल्धुरा आउदा नेपाली कांग्रेसकै कार्यकर्ताहरुबाट असुरक्षित हुनसक्ने अनुमान गरिएको वेला देउवाको डडेल्धुरा आउने कार्यक्रम स्थगन हुनु सुरक्षा चुनौतीका रुपमा समेत आँकलन गरिएको छ ।  देउवा डडेल्धुरा आएपछि आफ्नै पार्टिका कार्यकर्ताहरुबाट अपमानित हुनुपर्ने अवस्था आउन सक्ने देखेर कार्यक्रम स्थगन गरिएको अड्कल काटिएको छ । यसअघि देउवाले फागुन ८ गते डडेल्धुरा सदरमुकामको टुडिखेल र ९ गते पशरशुराम रंगमैदानमा आयोजना गरिएको महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।

देउवा नआउने भएपछि डडेल्धुरामा हुने चौथो सुदूरपश्चिम महोत्सवको उद्घाटन सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेकपाका नेता पठान सिंह बोहराबाट गर्ने कार्यक्रम तय भएको उद्योग वाणिज्य संघ डडेल्धुराले जानकारी दिएको छ ।

“सुखि नेपाली सम्बृद्ध नेपाल, कृषि, पर्यटन, उद्योग र ब्यापार , समृद्धिको आधार भन्ने मुल नाराका साथ सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन औद्योगिक ब्यापार मेला एबं चौथो डडेल्धुरा महोत्सव –२०७६ यही फागुन ८ गते देखी १८ गते सम्म डडेल्धुरा सदरमुकाम टुडिखेलमा संञ्चालन हुने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउने उद्देश्यले महोत्वसको आयोजना गर्न लागिएको डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले बताएका छन् । महोत्सवमा कृषि उपज, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधि आदि तथा बाल उद्यानसहित तीन सय बढि स्टल रहनेछन् । गेट निर्माण, स्टल निर्माण, स्टेज निमार्ण तथा स्टल बुकिङका साथै प्रचारप्रसार लगायतका आवश्यक सम्पुर्ण काम पुरा भएको आयोजक संस्थाले जानकारी दिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानियस्तरका कलाकारहरुको प्रस्तुतका साथै मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएका छन् । २ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने महोत्सवमा ५० लाख खर्च हुने र २ करोड ५० लाख भन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।  महोत्सवले यस क्षेत्रको पर्यटन विकासका साथै आर्थीक विकासका टेवा पुग्नेछ ।