Tuesday, 20, October, 2020 info@saipalnews.com

खेलकूद प्रदेश सरकारको पहिलो प्राथमिकतामा : मुख्यमन्त्री भट्ट

फागुन ९ कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले खेलकूदको विकासलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । आज यहाँ शुरु भएको चौंथो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम अन्तरर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप२०७६‘को उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री भट्टले राष्ट्रलाई चिनाउन र स्वस्थ जीवनका लागि खेलकूद आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो—“कैलालीको फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय खेलकूद मैदान बनाउने प्रयास सरकारले गरिरहेको छ ।”कार्यक्रममा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमाल लगायतले खेलकूदको महत्वका बारेमा प्रकाश पार्नुभयो ।

पहिलो खेलमा भारतको कञ्चनजङ्घा विजयी 

स्थानीय रङ्गशालामा भएको आजको पहिलो खेलमा भारतको कञ्चनजङ्घा फुटबल क्लब विजयी भई क्वाटरफाइनलमा प्रवेश गरेको छ । वाग्मती युवा क्लब सिराहलाई टाइब्रेकरमा४–२गोलले हराउँदै कञ्चनजंङ्घा क्वाटरफाइनल प्रवेश गरेको हो ।  निर्धारित समयसम्म दुबै टिमले गोलरहित बराबरी खेलेपछि भएको टाइब्रेकरमा कञ्चनजङ्घालाई जिताउन गोलरक्षक निगम सिंह नायक बने ।

सिंहले वाग्मतीका विपीन तुमसिङमगर र अनिल मगरको प्रहारलाई रोकेका हुन् । यसअघिको दुवै हाफमा कञ्चनजङ्घाले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको भए पनि गोल गर्न नसकेपछि टाइव्रेकरबाट छिनोफानो गरिएको हो । कञ्चनजङ्घाका निगम सिंह ‘म्यान अफ द म्याच‘घोषित भई पुरस्कृत भए ।

पहिलो खेलमा जित हात पारेको कञ्चनजङ्घाले अब सेमिफाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिता अन्तर्गत शनिवार सशस्त्र प्रहरी बलको एपिएफ र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिनुभयो ।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई रु २१ लाख तथा उपविजेतालाई रु १० लाख सहित, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशमा हुने एक मात्रै गोल्डकप फुटबल प्रतियोगिता हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम–११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।