Sunday, 17, January, 2021 info@saipalnews.com

संविधान संशोधनका लागि नेकपाले बनायो कार्यदल : माधव नेपाल संयोजक

फागुन ११ काठमाडौं । नेकपाले संविधान संशोधनका लागि कार्यदल बनाएको छ। शनिबार बसेको सचिवालय बैठकले वरिष्ठ नेता माधव नेपाल संयोजक रहेको कार्यदल बनाएको हो।  नेपाल संयोजक रहेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा सदस्य छन्।  कार्यदलले संविधान संशोधनको विषयमा गृहकार्य गर्नेछ।

संविधान संशोधन गरेर भए पनि नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लाने तयारी गरेको छ।  सोही तयारी अनुसार शनिबारको सचिवालय बैठकले संविधान संशोधनका लागि गृहकार्य गर्नेगरी कार्यदल बनाएको हो।  संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यलाई समेत प्रधानमन्त्री बन्ने बाटो खुलेपछि मात्र सांसद बन्ने अडान गौतमले लिएपछि नेकपाले संविधान संशोधनको तयारी थालेको हो।

स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफलपछि नेकपाले संविधान संशोधनको गृहकार्य गर्ने निर्णिय लिएको हो।  नेकपा केन्द्रीय समिति बैठकले गौतमलाई माघ १९ गते उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको थियो।  संविधान संशोधन गरेपछि राष्ट्रपतिबाट मनोनित गरेर नेता गौतमलाई राष्ट्रियसभामा लाने तयारी भइरहेको स्रोतको दाबी छ।  यसअघि गौतमलाई प्रधानमन्त्री ओली स्वयम्ले राष्ट्रियसभामा जान आग्रह गर्दा संविधान संशोधन नभएसम्म नजाने अडान लिएका थिए।