Monday, 18, January, 2021 info@saipalnews.com

भारत आइपुगे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, मोदीले गरे स्वागत

फागुन १२ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि आज अहमदाबाद आएका छन् । उनलाई अहमदावाद विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।ट्रम्पले अहमदावादमा आयोजित ‘नमस्ते ट्रम्प’ समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो समारोहमा लाखौं भारतीय नागरिक सहभागी हुने बताइएको छ ।

श्रीमती मेलानियासँगै भारततर्फ उड्नुअघि उनले भारत पुग्न आफू आतुर भएको प्रतिक्रिया दिएका थिए ।राष्ट्रपति ट्रम्पको भारत भ्रमणबाट दुई देशबीच रक्षा र रणनीतिक सहयोग बलियो हुने विश्वास गरिएको छ । तर व्यापार शुल्क जस्ता जटिल मुद्दाको समस्या समाधानमा ठोस परिमाण आउने अपेक्षा गरिएको छैन । ह्वाइटहाउसको ट्वीटरमा लेखिएको छ, ‘हामी दुई देशबीचको सम्बन्ध अझै मजबुत र स्थायी बनाउन तत्पर छौं ।’

अहमदावाद विमानस्थलदेखि ‘नमस्ते ट्रम्प’ समारोह आयोजना हुने स्थान नवनिर्मित मोटेरा क्रिकेट रंगशालासम्म सडकको दुवै किनारमा भारतीय नागरिकहरु उभिएर स्वागत गरेका छन् ।अहमदावादपछि ट्रम्प आगरास्थित ताजमहल पुग्नेछन् । त्यसपछि उनी भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

भारत भ्रमणको दोस्रो दिन मंगलबार राष्ट्रपति भवन परिसरमा ट्रम्प दम्पत्तिको स्वागत कार्यक्रम हुने छ । त्यहाँबाट महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्न ट्रम्प राजघाट जाने छन् । त्यसपछि हैदरावाद हाउसमा ट्रम्प र मोदीबीच प्रतिनिधिस्तरीय वार्ता हुने छ ।सोही दिन साँझ ट्रम्पले राष्ट्रपति भवनमा समकक्षी रामनाथ कोविन्दलाई भेट्ने कार्यक्रम छ । समकक्षी कोविन्दले आयोजना गरेको रात्रिभोजमा सहभागी भएर राति नै ट्रम्प स्वदेश फर्किने कार्यक्रम छ ।