Friday, 27, November, 2020 info@saipalnews.com

ट्रम्पको भारत भ्रमणलाई लक्षित गरी दिल्ली घट्यो ठुलो घटना ५ जनाको मृत्यु, ३० जना धन्दा धेरै घाइते

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणका क्रममा रहेकै बेला राजधानीको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा सोमबारको हिंसात्मक प्रदर्शनका क्रममा भएको भिडन्तमा कम्तीमा पाँच जनाको ज्यान गएको छ ।संशोधित नागरिकता ऐनको विरोध र पक्षमा दिल्लीको मौजपुर र आसपासका क्षेत्रमा विगत दुई दिन देखि जारी प्रदर्शनले सोमबार उग्र हिंसात्मक रुप लिँदा एक जना प्रहरी हवल्दारसहित पाँच जनाको मृत्यु भएको हो ।

मौजपुर क्षेत्रमा नागरिकता ऐनको विरोध र समर्थनमा विगत दुई दिनदेखि प्रदर्शन जारी थियो । सोमबार भने बिहानैदेखि दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि दिल्ली मेट्रोका आधा दर्जन स्टेशनहरु बन्द गरिएका थिए । सोमबारको प्रदर्शनमा क्रममा हिसांत्मक भीडले मौजपुर, कर्दामपुरी, चाँदबाग र दयालपुर क्षेत्रमा सार्वजनिक सवारीसाधन, घर र पसलहरुमा आगजानी गरेको थियो ।

त्यस्ता आगजानी र तोडफोडका घटनाका भिडियो र तस्बिरहरु दिनभर नै विभिन्न सञ्चारमाध्यम र समाजिक सञ्जालमार्फत् सार्वजनिक भइरहेका थिए । प्रदर्शनकारीहरुले दिल्लीको गोकुलपुरीस्थित पुरानो टायर बजारमा आगजनी गरेका थिए । उग्र भीडले पेट्रोल बम समेत प्रहार गरेका थियो । प्रदर्शनका कारण उक्त क्षेत्रमा रणभूमिका परिणत भएको थियो ।

सोमबारको हिंसात्मक प्रर्दशनमा११ जना प्रहरी र ५० भन्दा बढी सर्वसाधारण घाइते भएको बताइएको छ । घाइते प्रहरीमध्ये एक जना डीसीपीसमेत रहेका छन् । प्रदर्शनकै क्रममा ढुंगा लागेर घाइते प्रहरी हवल्दार रतनलालको उपचारको क्रममा मृत्यु भयो भने प्रहरीको गोली र प्रदर्शनकारीको आक्रमणमा अन्य चार जना सर्वसाधारणको ज्यान गएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दिनभरी जसो अश्रुग्याँस र लाठी प्रहार गरेको थियो । तर, अबेर रातिसम्म पनि स्थिति नियन्त्रणमा नआएपछि अर्धसैनिक बललाई परिचालित गरिएको थियो ।

यसैबीच प्रहरीले सोमबार अपरान्ह प्रदर्शनका क्रममा गोली चलाएको आरोपमा ३३ वर्षीय शाहरुखलाई पक्राउ गरेको छ । उनीमाथि मौजपुरमा भएको प्रदर्शनमा पेस्तोलबाट आठ राउण्ड गोली प्रहार गरेको आरोप छ । उनले पेस्तोलबाट गोली चलाउँदै गरेको तस्बिर सार्वजनिक भएको थियो ।

नागरिकता ऐनको विरोधमा आन्दोलन गरिरहेको पक्षले सोमबारको हिंसात्मक प्रदर्शनका पछाडि भारतीय जनता पार्टी ९भाजपा० का स्थानीय कपिल मिश्रले सोमबार दिएको भडकाउपूर्ण अभिव्यक्तिलाई जिम्मेवार ठानेका छन् । शनिबार राति करिब ५ सय महिलाहरुले जाफराबाद मेट्रो स्टेसनमा भेला भएर शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

यसअघि दिल्लीकै शाहिनबागमा संशोधित नागरिक ऐन र राष्ट्रिय नागरिक पन्जीकरण ९एनआरसी० को विरोधमा स्थानीयले करिब दुई महिनासम्म धर्ना तथा प्रदर्शन गरेका थिए । मिश्रले सोमबार सार्वजनिक रुपमै विगत दिल्लीको जाफराबाद र चाँदबाग क्षेत्रमा जारी संशोधित नागरिकता ऐनका विरुद्ध भइरहेको प्रदर्शन तीन दिनभित्र अन्त्य गराएर सडक खुला गराउन दिल्ली प्रहरीलाई अल्टिमेटम दिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किन अब तीन दिन बाँकी छ, त्यसपछि हामीहरुलाई न सम्झाउनुहोला त्यसपछि हामीहरु केही सुन्नेछैनौं,’ उनले सोमबार सार्वजनिक रुपमै भनेका थिए । मिश्रको उक्त अभिव्यक्तिले साम्प्रदायिक सद्भावलाई खलल पुर्याउन खोजेको भन्दै त्यसको सबै पक्षबाट आलोचना गरिएको थियो । नभन्दै त्यसको भोलिपल्ट सोमबार बिहानैदेखि नै दिल्लीका मौजपुर, कर्दामपुरी, चाँदबाघ र दयालपुर क्षेत्रको स्थिति तनावपूर्ण थियो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घटनाप्रति दुःख व्यक्ति गर्दै गृह मन्त्रालयलाई स्थिति नियन्त्रण लिनका लागि पर्याप्त मात्रामा प्रहरीलाई खटाउन आग्रह गरेका छन् ।परिस्थितिलाई ध्यानमा राख्दै दिल्ली सरकारले उत्तरपूर्व जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरुलाई मंगलबार बन्द गर्न निर्देशन दिएको छ । यसैगरी दिल्ली प्रहरीले त्यसक्षेत्रमा धारा १४४ समेत लागू गरेको छ ।

केही नेताहरुले प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहले राजधानीमै हिंसा हुँदा समेत मौनता साँधेको भन्दै उनीहरुको आलोचना गरेका छन् । सीपीआई मार्क्सवादी नेता सिताराम यचुरीले ट्वीट गर्दै राजधानीकै अवस्था तनावपूर्ण हुँदा समेत प्रधानमन्त्री र गृह मन्त्री चुपचाप बसेर असक्षम र घटनालाई सघाएको आरोप लगाएका छन् ।

अमेरिकी राष्ट्रपति भारत भ्रमणका क्रममा दिल्लीमा रहेका बेला भएको हिंसात्मक प्रदर्शनप्रति राजनीतिक दलका नेताहरुले खेद प्रकट गरेका छन् । भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले विज्ञप्तिमार्फत् दिल्लीवासीलाई साम्प्रदायिक सद्भाव कायम राख्न र धर्मका आधारमा भारतलाई विभाजित गर्न चाहने तत्वहरुको गलत नियतलाई परास्त गर्न आग्रह गरेकी छिन् । सरकारी पक्षले भने सोमबार भएका हिंसात्मक घटनाहरु राष्ट्रपति ट्रम्पको भ्रमणलाई लक्षित गर्दै सुनियोजित ढंगले गरिएको आरोप लगाएको छ । सोमबार गुजरातको अहमदाबाद ओर्लेर दिल्ली आइपुगेका ट्रम्प मंगलबार साँझ स्वदेश फिर्ने कार्यक्रम छ । यो समाचार कान्तिपुरमा छ ।