Wednesday, 21, October, 2020 info@saipalnews.com

प्रधानमन्त्री ओलीविरुद्ध नेकपामा ‘घेराबन्दी,टाढा हुदै विश्वासपात्र

फागुन १४ काठमाडौं। सरकारप्रति टिका–टिप्पणी जारी रहेका बेला प्रधानमन्त्री केपी ओली पार्टीभित्र पनि घेराबन्दीमा पर्दै गएका छन् । नेकपाको ‘हाइकमाण्ड’ केन्द्रीय सचिवालयमा अल्पमतमा रहेका कारण ओली कुनै निर्णय रोक्ने सामथ्र्यमा छैनन् । जसले घेराबन्दी क्रमशः साँघुरो बनाउँदै लगेको छ । अर्कोतर्फ ओलीले मन्त्रिपरिषदबाट पनि आफ्ना विश्वास पात्र गुमाउँदै गएका छन् ।

अमेरिकासँग भएको एमसीसी सम्झौता अध्ययन गर्न बनाइएको कार्यदलले यथास्थितिमा संसदीय अनुमोदन गर्न नसकिने निश्कर्ष दियो । जसलाई सचिवालयले पनि स्वीकारेको बताइएको छ । जवकी प्रधानमन्त्री ओली एमसीसी तत्काल पारित गर्नुपर्ने पक्षमा थिए ।

सचिवालयमा अल्पमत रहेकै कारण कारण बामदेवलाई अगाडि सारेर आफैमाथि ‘सफ्ट–कु’ गर्ने गरी संविधान संशोधनका लागि गृहकार्य गर्न कार्यदल बन्दा पनि ओलीले सशक्त प्रतिकार गर्न सकेका छैनन् । सुवास नेम्वाङ र खिमलाल देवकोटाले कार्यदलमा नबस्ने भनेर ओलीलाई तत्कालिन राहत त दिएका छन् । तर, सचिवालयले चाहँदा यो निर्णय कार्यान्वयन हुने नै छ ।

दुई अध्यक्षको कार्यविभाजनपछि दबाबमा पर्न थालेका ओलीका चुनौतीका दिन सचिवालय सदस्यहरुको भैंसेपाटी भेलापछि बढेको हो । सरकार सञ्चालमा पार्टीको भूमिका बढाउनु पर्ने केन्द्रीय कमिटीको निश्कर्ष र सभामुख पूर्वमाओवादीलाई दिने निर्णयले थप चेपुवामा परेका ओली एमसीसी र संविधान संशोधन कार्यदल प्रकरणले निरिह बन्न बाध्य भए । तर, नेकपाका मध्यमस्तरका नेताको बुझाई भने अलि फरक छ ।

९ सदस्यीय सचिवालयमा ओलीको पक्षमा ईश्वर पोखरेल र विष्णु पौडेल मात्रै छन् । पुष्पकमल दाहाल, माधवकुमार नेपाल र वामदेव गौतम एकै कित्तामा उभिदा स्वतः अल्पमतमा परेका ओलीका लागि सचिवालयमा जारी चरम अन्तर संघर्षको व्यवस्थापन कठिन बन्दै गएको हो । राजनीतिक विश्लेषक भने ओली चेपुवामा पर्नुको मूल कारण उनी नै रहेको दावी गर्छन् ।

मन्त्रिपरिषदबाट विश्वासपात्र गोकुल बाँस्कोटाको बहिर्गमन ओलीका लागि अर्को झड्का हो । अझ ओलीको आड विना बाँस्कोटाले त्यति ठूलो ‘बार्गेनिङ’ गर्न सक्दैनन् भन्ने दावीले मात्रै होइन, अख्तियारमै आफूविरुद्ध पनि परेको उजुरीले उनलाई थप सकसमा धकेलेको छ ।

फागुन २० गतेपछि अर्का विश्वासपात्र डा:युवराज खतिवडा पनि मन्त्रिपरिषद्बाट बाहिरिने निश्चित भयो भने ओलीले थप संकटमा पर्ने छन् । सरकारका कमजोरीबीच पार्टीमा चलाइएको शक्ति संघर्षका कारण ओलीको आगामी यात्रामा ठेश लागिरहने भने निश्चित छ ।