Wednesday, 28, October, 2020 info@saipalnews.com

अल्पमतमा परेपछि प्रचण्डको चरित्रहत्यामा ओलीको सचिवालय सक्रिय

फागुन १५ काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्ड निवासमा व्यापारीसँग बैठक गरेर अर्थमन्त्री हटाउने निर्णय गरिएको भन्ने समाचारको सचिवालयले खण्डन गरेको छ। केही सञ्चार माध्यममा प्रचण्ड निवासमा बैठक बसेर अर्थमन्त्री हटाउने तयारी गरेको समाचार प्रकाशित भएपछि प्रचण्डको सचिवालयले त्यसको खण्डन गरेको हो।

प्रचण्डका प्रमूख स्वकीय सचिव जोखबहादुर महराले खुमलटारमा व्यापारीसँग बैठक बसेको भन्ने समाचारको खण्डन गरे। उनले भने, ‘अध्यक्षले कुनै व्यापारीसँग बैठक गर्नुभएको छ। खुमलटारमा बैठक बसेर अर्थमन्त्री हटाउने निर्णय भएको समाचार पढ्दा हामी आश्चर्यचकित भएका छौं। खुमलटारमा कोही व्यापारी आएको पनि छैन, अध्यक्षले कसैलाई भेट्नुभएको पनि छैन।’

केही सञ्चार माध्यमले खुमलटारमा प्रचण्डले उपेन्द्र महतो, विनोद चौधरी, अजय सुमार्गी लगायतसँग बैठक गरेको समाचार प्रकाशित गरेका थिए। उक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका उपाध्यक्ष वामदेव गौतमसमेत सहभागी भएको समाचारमा उल्लेख गरिएको थियो। सोही समाचारको सचिवालयले खण्डन गरेको हो।