Sunday, 25, October, 2020 info@saipalnews.com

मगर समुदायिकलाई प्रयोग मात्र गरियो : मुख्यमन्त्री राउत

फागुन १६ धनुषा । मुख्यमन्त्री लालबाबु राउतले हरेक कालखण्डमा मुलुकका लागि ज्यानको आहुती दिने मगर समुदायलाई शासक वर्गले प्रयोगको पात्र बनाएको बताउनुभएको छ ।नेपाल मगर सङ्घको ३८औँ स्थापना दिवसको अवसरमा प्रदेश नं २ को कमिटीले रौतहटको मङ्गलपुरमा बिहीबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले राज्यको हरेक परिवर्तनको अग्रपक्तिमा रहने मगर समुदायलाई आज पनि आफनो पहिचानको लागि सङ्घर्ष गर्ने अवस्था रहनु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पृथ्वीनारायण शाहको राज्य विस्तार होस् वा राणाविरुद्धको आन्दोलन वा माओवादीको जनयुद्ध सबैमा मगर समुदायको भूमिका महत्वपूर्ण रह्यो तर सबैले मगर समुदायलाई प्रयोग मात्र गरिरहे, यो अन्यायपूर्ण हो ।

मुख्यमन्त्री राउतले पहिचानको लागि विभेद्मा रहेका मधेशी, आदिवासी जनजाति, दलित, महिला मुस्लिमलाई एक हुनु विकल्प नरहेको बताउनुभयो । अहिलेको शासन सत्ता सञ्चालन गर्नेहरु समेत एक जाति एक भाषालाई मात्र प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै उहाँले पहिचानको लागि पुनःआन्दोलन गर्नुपर्ने बताउनुभयो ।

पहिचानको आधारमा गठन भएको प्रदेश २ को सरकार प्रदेशमा बसोबास गर्ने सबै समुदायको पहिचान स्थापित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेश २ को नामकरण पहिचानकै आधार मधेश प्रदेश हुने दाबी गर्नुभयो । मगर सङ्घका प्रदेश अध्यक्ष यमबहादुर खपाङ्गी मगरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभासद् रामकुमार भट्टराई, मगर सङ्घका इन्चार्ज लेखराज मगरलगायतका वक्ताहरुले बोल्नुभएको थियो ।