Thursday, 01, October, 2020 info@saipalnews.com

गोर्खा सेना भर्तीबारे छुट्टाछुट्टै सम्झौताको माग

फागुन १६ काठमाडौँ । नेपालस्थित भूतपूर्व गोर्खा सैनिकहरूले सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको गोर्खा भर्ती सन्धि पुनरावलोकनका लागि सरकारले चालेको पहलको स्वागत गर्दै गोर्खा सैनिक काम गरिरहेका हरेक मुलुकसँग द्विपक्षीय सम्झौताको माग गरेका छन् । सरकारले गतसाता उक्त सन्धि पुनरावलोकनका लागि माग गर्दै बेलायत सरकारलाई कूटनीतिक नोटमार्फत अनुरोध गरेको थियो ।

भूपू गोर्खा सैनिकहरूले त्रिपक्षीय सन्धिमा व्यवस्था भएबमोजिम भारत सरकारले गोर्खा सैनिकलाई भारतका नागरिक सरह सेवासुविधा तथा पेन्सन दिँदै आएको भए पनि बेलायतले सन् १९९७ अघि सेनामा भर्ती भएका गोर्खा सैनिकलाई सेवासुविधा तथा पेन्सनमा विभेद गर्दै आएको छ ।

गोर्खा भूतपूर्व सैनिक संघ गेसो ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बेलायती सेनामा गोर्खालाई गरिएको विभेद हटाउन नेपालका गोर्खा सैनिकले सेवा दिने मुलुकसँग छुट्टाछुट्टै सम्झौता गर्नुपर्ने माग गरेको हो ।

‘गोर्खा भर्तीका सम्बन्धमा भारत, बेलायत, सिंगापुर र ब्रुनाईसँग छुट्टाछुट्टै सम्झौता हुनुपर्छ । यसले गोर्खामाथि भएको विभेद हट्छ,’ गेसोका सभापति कृष्णकुमार राईले भने । बेलायतले नेपालमा गोर्खा भर्ती गर्ने र उनीहरूलाई प्रशिक्षणपछि सिधै सिंगापुर र ब्रुनाईमा लगेर काम लगाउँदै आइरहेको छ ।

सुरक्षा प्रदान गरेबापत बेलायतले सिंगापुर र ब्रुनाईसँग बढी रकम लिएर नेपाली गोर्खालाई कम दिँदै आइरहेका छन् । आवश्यकताअनुसार सिंगापुर र ब्रुनाईले सिधै गोर्खा भर्ती गरेर नेपालबाट लैजान सक्ने वातावरण मिलाउन गेसोले सरकारसँग माग गर्दै आइरहेको राईले बताए ।

परराष्ट्र मन्त्रालयले माघ २९ मा नेपालस्थित बेलायती दूतावासलाई कूटनीतिक नोट पठाउँदै भूतपूर्व गोर्खा सैनिकका गुनासा समाधान गर्न छलफल गरी त्रिपक्षीय सन्धि पुनरावलोकन गर्न चाहेको स्पष्ट पारेको थियो । उक्त मागबारे बेलायत सरकारले जवाफ पठाइसकेको छैन । यो समाचार कान्तिपुर दैनिकमा छ ।