Wednesday, 21, October, 2020 info@saipalnews.com

डोटीको बुडरमा औधोगिक ग्राम स्थापना गर्न मन्त्रालय र गाउँपालिकाबीच समझदारी

फागुन १६ डोटी । जिल्लाको बुडरमा घोषणा भएको औधोगिक ग्राम स्थापनाको लागि प्रकृया अघि बढेको छ । यसै सन्दर्भमा नेपाल सरकारले घोषणा गरेको स्थानमा औधोगिक ग्राम स्थापना गर्ने सन्दर्भमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिका बिचमा फागुन १६ गते समझदारी भएको जोरायल गाउँपालिकाले जनाएको छ ।

सो सझदारी पत्रमा मन्त्रालयको तर्फबाट सह-सचिब शोभाकान्त पौडेल र जोरायल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजबहादुर खत्रीले हस्ताक्षर गर्नु भएको छ । स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रबिधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी बृद्धि गरी यस्ता उद्योग स्थापना विकास र प्रबद्र्धन गर्दै रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने कार्यक्रमको उद्देश्य रहेको छ ।

नेपाल सरकारले प्रत्यक स्थानीय तहमा औधोगिक ग्राम स्थापना गरि सन्चालनमा ल्याउने नीति अनुरुप आ।ब। २०७६/७७ मा मन्त्री परिषदको निर्णय अनुसार घोषणा भएका ३२ वटा औधोगिक ग्रामहरुको पूर्बाधार विकास र निर्माण कार्यका लागि स्थानीय तहसँग समझदारी गरिएको हो । सो कार्यको लागि चालु आ।ब। मा मन्त्रालयले जोरायल गाउँपालिकालाई ९२ लाख  निकासा गर्ने छ । गाउँपालिकाले ३ महिना भित्र  आफ्नो श्रोतबाट बिस्तृत परियोजना प्रतिबेदन तयार गरि मन्त्रालयमा पेश गर्नु पर्ने छ ।

औधोगिक ग्राम स्थापनाको लागि मन्त्रालयले उपलब्ध गराएको  बजेटको अधिनमा रहि पूर्बाधार बिकास तथा बिभिन्न सँरचना निर्माणको लागि खर्च गरिने समझदारी पत्रमा उल्लेख गरिएको छ । धनगढी डडेल्धुरा भिमदत्त पन्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका वडा नंं २ बुडरमा औधोगिक ग्राम स्थापनाको लागि जोरायल गाउँपालिकाले लामो समय देखि पहल गरेको थियो । यसका लागि सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्रीका प्रमुख स्वकिय सचिब शिबसिंह ओलीले पनि प्रदेश सरकारवाट पहल र पैरवी गर्नु भएको थियो ।

जोरायल गाउँपालिकाको पहल पश्चात उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बुडरमा औधोगिक ग्राम स्थापना गर्न मन्त्री परिषदबाट स्वीकृत गराउनु भएको थियो । डोटीको बुडरमा औधोगिक ग्राम स्थापना गर्ने नेपाल सरकारबाट निर्णय भएपछि जोरायल गाउँपालिकाले यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको छ ।

सुदूर पश्चिमका पहाडी जिल्ला प्रबेश गर्ने प्रबेशद्वारको रुपमा  रहेको डोटीको बडरमा स्थापना हुने औधागिक ग्राम नमूनाको रुपमा बिकास गरिने गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनु भयो । उक्त औधोगिक ग्राम स्थापना भएपछि डोटीको जोरायल गाउँपालिकाका साथै डडेल्धुरा जिल्लाका आलिताल गाउँपालिकाका स्थानीय बासिन्दाहरुपनि प्रत्यक्ष रुपमा लाभान्वित हुने छन ।