Thursday, 24, September, 2020 info@saipalnews.com

हरेक नेताको मुख्य एजेण्डा नै पश्चिम सेती,आयोजना आश्वासनमै सीमित

फागुन १७ काठमाडौँ । सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन । हरेक निर्वाचनमा मुख्य रूपमा उठान हुने पश्चिम सेती परियोजना अहिलेसम्म आश्वासनमै बितेको छ ।नारामा धेरै बढीको जिब्रोबाट बोलिने पश्चिम सेती कहिले बन्छ कुनै टुङ्गो छैन ।

परियोजनाको २८ वर्ष बितिसक्दा पनि निर्माणको काम भने अगाडि बढेन ।यस क्षेत्रका बासिन्दा तीन दशक पहिलादेखि चर्चामा रहेको पश्चिम सेती परियोजनाको आशामा अझै छन् । पश्चिम सेती परियोजनाको निर्माण स्थलका बासिन्दाले दशकौँपहिला परियोजना लागू हुने सुनेका मात्रै थिएनन्, केही कम्पनीले स्थलगत प्रतिवेदनसमेत तयार पारेको उनीहरू सुनाउँछन् ।

पश्चिम सेती परियोजना सुरु हुने हल्लाले अन्य विकासबाट वञ्चित बन्नु परेको स्थानीयवासीको दुःखेसो छ । “पश्चिम सेती परियोजना प्रभाव क्षेत्रमा लगानी गरेपछि डुबान हुने भन्दै सरकारको लगानी रोकिएको छ”, स्थानीयवासी डम्बरबहादुर सिंह भन्नुहुन्छ,“न पश्चिम सेती सुरु हुन्छ, न त यस क्षेत्रको अन्य विकास निर्माण कार्य नै ।” उहाँले परियोजनाको हल्लाले बाटो, खानेपानी, सिँचाइ, शिक्षा जस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित हुनु परेको बताउनुभयो ।

दशकौँ पहिलेदेखि विभिन्न विदेशी कम्पनीसँग सम्झौता भई केही काम सुचारु भएको स्थानीय सरिता चन्दले बताउनुभयो । डडेल्धुराको बेलापुर र बैतडीको ढुङ्गाडका बस्ती र सेती परियोजना लागू हुने स्थान तथा बाँध बाँधिने ठाउँमा विभिन्न काम भएको उहाँले बताउनुभयो । तीन दशकदेखि चर्चाको विषय बन्दै गइरहेको पश्चिम सेती आयोजना स्थलको पटक पटक भौगर्भिक अध्ययन भए पनि सार्थक रूपमा काम हुन सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।