Monday, 21, September, 2020 info@saipalnews.com

देउवाले सकिने बेला पैसा प-यो फेला : पौडेल

मकवानपुर १८ फागुन । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पैसा लिएर पद बाँडेको आरोप लगाएका छन् । देउवाले नियमित कार्यकाल सकिनु दुई दिनअघि शनिबार एकपक्षीय रूपमा विभाग गठन गरेको भन्दै पौडेलले यस्तो आरोप लगाएका हुन् ।पार्टीको महाधिवेशन सुरु भइसकेको छ।

आचारसंहिता लागू भइसकेको छ। यस्तो अवस्थामा पार्टी सभापतिले नीतिभन्दा बाहिर गएर विभाग गठन गरिरहेका छन्। जुन गलत भइरहेको छ’, आइतबार हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले भने, ‘राम्रो काम गरेर पार्टीभित्र आफ्नो प्रभाव बढाउनेभन्दा पनि पैसासँग पद बाँडेर पार्टीमा आफ्नो वर्चश्व बढाउनेतर्फ नेतृत्व अगाडि बढिरहेको छ। यो नीतिले प्रजातन्त्रलाई घायल बनाइरहेको छ।’

उनले सभापतिको गलत कदमका कारण पार्टी कमजोर भइरहेको बताए। ‘पार्टी नेतृत्व सही ढंगले अगाडि बढ्न नसक्दा कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकेको छैन। विकासमा संक्रमण छाएको छ’, उनले सभापतिसँग व्यक्तिगत नभएर नीतिगत असहमति रहेको बताए।कांग्रेसको १४ औं महाविधेशन २०७७ फागुन ७–१० गतेसम्म तय भएर आचारसंहित लागू भइसकेको अवस्थामा पार्टी विधानविपरीत छ महिनाभित्रमा गठन हुनुपर्ने विभाग चार वर्षपछि गठन गरिएकोप्रति उनको आपत्ति छ।

पौडेलले वर्तमान सरकार र नेकपा भ्रष्टाचारमा डुबेको आरोप लगाए। ‘वर्तमान सरकार भ्रष्टाचारमा डुबेको छ। स्वयम् प्रधानमन्त्री नै भ्रष्टाचारलाई संस्थागत गरिरहनु भएको छ। भ्रष्टाचार भएको प्रमाण हुँदाहुँदै पनि प्रधानमन्त्री मन्त्रीहरुलाई जोगाउने काम गरिरहनु भएको छ। जुन गलत छ’, पौडेलले भने।

आइतबार हेटौंडामा पौडेल पक्षधरका वाग्मती प्रदेश सभापतिहरुको भेला रहेको छ। भेलामा कांग्रेस महामन्त्री शशांक कोइराला, कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा पूर्वअर्थमन्त्री रामशरण महतलगायतका नेताको उपस्थिति छ।