Thursday, 24, September, 2020 info@saipalnews.com

जसले दिँदैछिन् प्रधानमन्त्रीलाई मिर्गौला

काठमाडौँ १९ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लो आइतबार छुट्टै रौनक थियो । फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेकाले प्रधानमन्त्री सचिवालयका सदस्यहरू भेला भएका थिए । उनलाई जन्मदिनको शुभकामना दिँदै सानो केक पनि काटेका थिए ।प्रधानमन्त्री निवासमा प्रायः देखिइरहने एक महिला पनि त्यहाँ उपस्थित थिइन् ।

केही समययता प्रधानमन्त्री निवासमा बाक्लै आउजाउ गरिरहेकी ती महिला नातेदार हुन् भन्नेबाहेक सचिवालयमै कार्यरत धेरैलाई उनको परिचय थाहा थिएन ।त्यस दिन भने प्रधानमन्त्री ओली आफैंले ती महिलाको परिचय गराए । सचिवालयका उपस्थित सदस्यहरूलाई ओलीले भने, ‘मलाई मिर्गौला दिने उनी नै हुन् ।’

प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मिर्गौला दाताका रूपमा चिनाइएकी ३२ वर्षीया ती महिला झापाकी हुन् । नातामा उनी ओलीकी ‘भान्जी’ पर्छिन् । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा लगभग १३ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले अस्वीकार गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका थिए । त्यसपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने अर्को गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण गरिएको थियो  ।

ससुरालीतर्फ नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी र उनको मिर्गौलामा पनि केही समस्या देखिएकाले घरतर्फबाट नाता पर्ने झापाकी महिलाबाट मिर्गौला लिने निष्कर्षमा चिकित्सकहरू पुगेका हुन् । झापा, चारआलीकी ३२ वर्षीया ती महिला पहिले ओलीलाई मिर्गौला दिने अन्जान घिमिरेकी भान्जी हुन् । त्यस हिसाबले उनी प्रधानमन्त्रीकी पनि ‘भान्जी’ नाता पर्ने पारिवारिक स्रोतहरूको भनाइ छ । अन्जान प्रधानमन्त्री ओलीकी भाइबुहारी हुन् । ओलीका भाइ तारा ओलीकी श्रीमती उनी राष्ट्रपति कार्यालयमा कार्यरत छिन् ।

स्रोतका अनुसार भान्जी पर्ने महिलाको दाहिनेतर्फको ‘१०।२ बाई ३।८ सीएम’ आकार रहेको मिर्गौला झिकेर प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिनेछ । उनको देब्रेतर्फको मिर्गौलामा निकै मसिना सिस्ट ९फोका० देखिएकाले दाहिने मिर्गौला प्रधानमन्त्रीका लागि उपयुक्त हुने निष्कर्षमा चिकित्सकहरू पुगेको स्रोतको दाबी छ ।

दाता महिलाको गतसाता नै सबै शारीरिक परीक्षणहरू सकिएको छ। उनको र प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था प्रत्यारोपणका लागि अनुकूल रहेकाले चिकित्सक टोली बुधबारै प्रत्यारोपण गर्ने निर्णयमा पुगेको हो ।

चिकित्सकहरू गत मंसिर अन्तिमतिर नै प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा जुटेका थिए । तर एपेन्डिसाइटिस र पेरिटोनाइटिसको समस्याका कारण आकस्मिक रूपमा ल्यापरोटोमी नै गर्नुपरेपछि प्रत्यारोपणको मिति धकेलिएर अहिले आइपुगेको हो । यसबीचमा ओलीको प्रत्येक साता नियमित डायलसिस गर्ने गरिएको थियो । डायलसिस गर्दै ओली आफ्नो नियमित काममा जुटिरहेका थिए ।

डायलसिस र नियमित परीक्षणका लागि ओली त्रिवि शिक्षण अस्पताल गइरहन्थे । त्यस क्रममा उनले अहिलेकै अवस्थामा मिर्गौला प्रत्यारोपण गरे सफल हुने सम्भावना कति रहन्छ भनेर सोधिरहने गरेको स्रोतले बतायो ।डाक्टरहरूको भनाइ उद्धृत गर्दै ओलीलेआफ्ना निकटस्थहरूलाई ‘अहिलेकै स्वास्थ्य अवस्थालाई हेरेर मिर्गौला प्रत्यारोपण गर्दा सफल हुने सम्भावना ९८ प्रतिशत रहेको’ बताउँथे ।

चिकित्सकहरूको यही सल्लाहका कारण ओली प्रत्यारोपण गर्न निश्चिन्त बनेका हुन् । उनले प्रत्यारोपण गर्नमा कुनै जटिलता नरहेको भन्दै सार्वजनिक मञ्चहरूबाटै पनि भन्दै आएकाछन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान नेकपाको सचिवालय बैठकमा बुधबार मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी गराएका थिए । २० मिनेट चलेको सचिवालय बैठकमा ओलीले आफ्नो स्वास्थ्यस्थिति र प्रत्यारोपण योजनाबारे सुनाएका थिए ।

सचिवालय बैठक बस्नुअघि पनि ओली स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका थिए । बैठकमा ओलीले आफ्नो शल्यक्रिया त्रिवि शिक्षण अस्पतालमा हुने र त्यसका लागि आवश्यक तयारीका सबै काम पूरा भएको जानकारी गराएका थिए । बैठक बस्नुअघि ओलीले नेकपाका केही नेताहरूसँग छलफल पनि गरेका थिए ।

छलफलमा पनि उनले आफ्नो उपचारबारे कुराकानी गरेको ती नेताहरूले बताए । ‘अब म मिर्गौला प्रत्यारोपण गर्न जान्छु,’ ती भेटहरूमा ओलीले भने, ‘जनताको शुभकामना र आशीर्वाद छ, पाँचौं दिनमा निको भइहाल्छु, चिन्ता नगर्नुस् ।’

साँझ उनले मन्त्रिपरिषद् बैठक राखे । त्यहाँ मन्त्रीहरूलाई आफूले ‘भान्जी’ बाट मिर्गौला लिएर प्रत्यारोपण गर्न लागेको जानकारी दिए । सचिवालय बैठकपछि ओली दिनभर अनौपचारिक भेटघाट र छलफलमा व्यस्त रहे । आफ्ना सचिवालयका कर्मचारीहरूसँग आगामी दिनमा गर्नैपर्ने कामहरूबारे रिपोर्टिङ लिए र आवश्यक निर्देशन दिए । सामान्यतः सोमबार बोलाइने मन्त्रिपरिषद् बैठक उनले आइतबार नै बोलाए ।

५ बजेका लागि बोलाइएको बैठक साढे ६ बजेमात्रै सुरु भएको थियो । त्यसअघि उनले मन्त्रिपरिषद्का सदस्यसँग अनौपचारिक छलफल गरे । ‘अरू बेला मन्त्रीहरूले कुरिरहनुहुन्थ्यो, उहाँ आउनुहुन्थ्यो अनि बैठक सुरु भइहाल्थ्यो,’ आइतबारको बैठकबारे एक मन्त्रीले भने, ‘आज भने खाजाको पनि व्यवस्था थियो । हामीले झन्डै डेढ घण्टा उहाँसँग अनौपचारिक छलफल गर्‍यौं । स्वास्थ्यलाभको कामना गर्‍यौं ।’

त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकमा पनि ओलीले आफ्नो स्वास्थ्य अवस्थाको ताजा विवरण मात्रै सुनाए । ‘आज अरू धेरै विषयमा खास छलफल भएन,’ बैठकपछि एक मन्त्रीले कान्तिपुरसँग भने । उनका अनुसार ओलीले १३ वर्षअघि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका डाक्टर आउने सम्भावना रहेको बताएका थिए ।

बिहान पनि हस्पिटल गएर चेक गरेर आएँ, डाक्टरहरूले राम्रो हुन्छ भनेका छन्, रेस्टपछि आठरनौ दिनमा काममा फर्किन्छु,’ ओलीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘पहिले अपोलोमा जसले प्रत्यारोपण गरेका थिए, ती डाक्टर पनि आउने सम्भावना छ ।’

अंगदानको प्रावधान के छ  ?

नेपालको कानुनअनुसार आफ्नो नजिकको नातेदारबाट सहमतिमा अंगदान लिन सकिन्छ । मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५ अनुसार अंगदान गर्न मिल्ने विभिन्न ५५ किसिमका नातामा भान्जाभान्जीपनि पर्छन् ।

ऐनअनुसार ओलीले पहिलो पटक पनि आफ्नै नातेदारबाट मिर्गौला लिएका थिए । अहिले पनि नातेदारभित्रकै व्यक्तिबाट प्रत्यारोपण गराउन लागेका हुन् । ओलीको मिर्गौला बिग्रिएपछि अन्जानले मिर्गौला दिन आफैं जोडबल गरेकी थिइन् । केही महिनाअघि उनले भनेकी थिइन्, ‘सक्दो छिटो जेठाजुलाई बचाउनुपर्छ भन्ने लागेकाले मैले मिर्गौला दिएकी थिएँ ।’ अहिले पनि परिवारकै सदस्य ओलीका लागि दाता बनेकी छन् । तर व्यक्तिगत गोपनीयताका कारण उनको नाम सार्वजनिक गरिएको छैन । यो समाचार कान्तिपुरमा छ ।