Saturday, 19, September, 2020 info@saipalnews.com

१० रुपैयाँमा १० रुपैयाँमा रोजी-रोजी खाना

काठमाडौँ १९ फागुन । छोरो बिरामी भएपछि उदयपुरका टेकबहादुर बस्नेत काठमाडौं आएको दुई साता भयो । गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले उनका छोरा कुलदीपलाई चार दिनअघि पाटन अस्पतालमा ‘रिफर’ गर्‍यो । आइतबार बिहान ११ बजेतिर खाना खान अस्पतालबाहिर निस्किए ।ललितपुरको पाटन अस्पताल छेउमा १० रुपैयाँमा खाना उपलब्ध गराइँदै । प्रिमियर एकेडमीले प्रत्येक आइतबार यसरी खाना उपलब्ध गराउने भएको छ ।

बिरामी छोरालाई पनि खाना ल्याउन उनले हातमा ‘हटकेस’ बोकेका थिए । होटल जाँदै गर्दा एक युवाले सञ्चयकोष भवनको आँगनमा खाना खान बोलाए । उनी जाने कि नजाने अलमलमा परे । अनि सोध, ‘बिरामीलाई पनि खाना लैजान पाइन्छ रु’ खाना वितरणमा बसेका स्वयंसेवकले बिरामीलाई पनि लैजान दिने बताएपछि बस्नेत खाना खान अघि सरे ।

१० रुपैयाँमा एक टपरी खाना पाइन्छ तर प्याकिङ गरेर लैजान नपाइने व्यवस्थापकको नियम छ ।१० रुपैयाँ तिरेपछि खाना खुवाउन खटिएका स्वयंसेवकले उनलाई टपरी हातमा थमाए । टपरीभरि खाना थापे । तरकारी थियो– केराउ र पनिरमा झोल राखेको । तरकारीमा मसला, पिरो र नुन कमै थियो । उनले खाना आए अनि छोरालाई हटकेसमा राखेर अस्पतालतिर लागे । ‘अरू बेला एक सय २० रुपैयाँ पर्थ्यो । आज २० रुपैयाँमै दुई जनालाई पुग्यो,’ खुसी हुँदै उनले भने, ‘भाग्यमानीको भूतै कमारो । गरिबदुःखीका लागि राम्रो काम हो ।

सिन्धुपाल्चोकका सागर तामाङ पनि बिरामी श्रीमतीलाई लिएर खाना खान आइपुगेका थिए । अघिल्लो साता नै सस्तोमा खाना खान पाइने सुनेका थिए । उनी त्यसैले आइतबार बिहान भने क्यान्टिनतिर नलागी अस्पतालसँगैको सञ्चयकोष भवनतिरै लम्किए । दुई जनाले २० रुपैयाँमा खाना खाएर अस्पतालमै फर्किए । लगनखेलको पसलमा काम गर्ने प्यूठानका बम थापा मगर र उनकी साथी गंगा राईले त आइतबार घरबाट खाना ल्याउनै छाडिसके । ‘पहिला घरबाट खाना ल्याउने गरेको थियो ।

घरमा भन्दा मीठो खाना यहीं १० रुपैयाँमा पाइन्छ, किन घरबाट ल्याउनु रु’ गंगाले भनिन् । दुई सातादेखि उनीहरू यहीं खाना खान्छन् । सातदोबाटोको प्रिमियर इन्टरनेसनल एकेडेमीले तीन सातादेखि लगनखेलमा १० रुपैयाँमा खाना खुवाइरहेको छ । ‘विद्यालयमा विद्यार्थीलाई जुन चामल खुवाउने हो, त्यही यहाँ पनि खुवाइरहेका छौं,’ प्रिमियर स्कुलकी प्रिन्सिपल पवित्रा लिम्बूले भनिन्, ‘कुक पनि उही हो । हामीले व्यवस्थापन मात्रै गरेका छौं ।’

१० रुपैयाँमा खाना खान पाइने भएपछि साढे १० बजेअघि नै सर्वसाधारण आइसकेका थिए । नियमित खाना खानेमा अस्पतालका बिरामी मात्रै होइन, लगनखेल बस स्टप हुँदै गाडी चलाउने चालक, परिचालक र हेल्परसमेत थिए । यस्तै अस्पतालका कर्मचारी, वरिपरि पसलमा काम गर्ने व्यक्ति पनि खान खान आइपुगेका थिए । यहाँ हरेक आइतबार साढे १० देखि साढे १२ बजेसम्म १० रुपैयाँमा खाना खुवाउने व्यवस्था गरिएको छ ।

आइतबार खाना खानेमा साझा यातायातका चालक कुसबहादुर राई पनि थपिए । ‘यहाँ सस्तोमा खाना खुवाउँछ भन्ने सुनेको थिएँ । आज खाने बेलैमा म यहाँ आइपुगेछु,’ उनले भने । सञ्चयकोष भवनमै रहेको आन्तरिक राजस्व कार्यालयका सुरक्षागार्ड शम्भु थापाले अरू दिन क्यान्टिनमा आए पनि आइतबार भने अरूसँगै तल लाइन लागेर खाए । दोस्रो पटक यहीं खान खाएको उनले बताए ।

बाटो हिंड्ने सबैलाई खाना खान बोलाउन र वितरण गर्न प्रिमियर स्कुलमा कक्षा आठ, नौ र १० मा विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावक स्वयंसेवक भएर खटिएका हुन्छन् । ‘१० रुपैयाँमा खाना’ भन्दा अनौठो मान्ने पनि हुन्छन् । सस्तोमा पाइने खाना भनेर नखाने पनि हुन्छन् ।

खाना खाँदा पनि कतिपय लुकेर खान्छन् । बच्चालाई मानवीयता र सहयोगको भावना सिकाउन सातामा एक पटक सस्तोमा खाना खुवाउन लागिएको लिम्बूले बताइन् । पहिलो पटक ५० जना, दोस्रो पटक एक सय र आइतबार एक सय ५० जनालाई खाना खुवाइएको उनले बताइन् । अर्को साता थप ५० जनालाई खुवाइने उनले बताइन् । यो समाचार कान्तिपुरमा छ ।