Friday, 27, November, 2020 info@saipalnews.com

दलित भन्दै डेरा छाड्न दवाव

काठमाडौँ २० फागुन । कानुनले जातीय विभेद गर्नु अपराध हो भन्छ । नयाँ मुलुकी ऐन, २०२० ले छुवाछूतलाई गैरकानुनी घोषणा गरेको थियो । त्यतिले पनि समाजमा छुवाछूत नहटेपछि संविधानले ‘छुवाछूत तथा भेदभावविरुद्धको हक’ को व्यवस्था गर्‍यो । जातका आधारमा निजी तथा सार्वजनिक ठाउँमा कसैले कसैलाई छुवाछूत गर्नु पनि अपराध हो । तर अझै व्यवहारमा भने छुवाछूत हट्न सकेको छैन ।

राजधानीको नेपालटारमा डेरा गरी बस्ने चार विद्यार्थी छुवाछूतको पछिल्लो सिकार भएका छन् । दलित भएको थाहा पाएपछि घरबेटीले आफूलाई डेरा छाड्न निरन्तर दबाब दिएपछि उनीहरूले कानुनी कारबाही थाल्ने निर्णय गरेका छन् ।

‘दलित भन्ने थाहा पाएकै दिनदेखि घरबेटीले हामीलाई घरबाट निक्लन दबाब दिँदै आएका छन्,’ त्रिभुवन विश्वविद्यालय त्रिविमा अंग्रेजी विषयमा स्नातकोत्तर गरिरहेकी दीपा नेपाली भन्छिन्, ‘अस्ति त म नभएका बेला भाइबहिनीलाई निकालेर कोठामा ताल्चा मार्ने काम भएछ ।’ अति भएपछि आफू छुवाछूतविरुद्ध कारबाहीमा उत्रन लागेको उनको भनाइ छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।