Sunday, 20, September, 2020 info@saipalnews.com

प्रम ओलीको मिर्गौला प्रत्यारोपणको तयारी पुरा,९ बजेबाट अपरेशन हुदैँ

काठमाडौँ २१ फागुन । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको तयारी पूरा भएको जानकारी दिनुभयो । निर्देशक खड्काले विज्ञप्ति निकालेर मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिने र विषयगत विशेषज्ञबाट स्वास्थ्य परीक्षण काम गरिएको जानकारी दिनुभएको हो ।

उहाँले अहिले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहेको पनि जानकारी गराउनुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि डाक्टर प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म रहने गरी डाक्टरहरुको टोली तयार भएको छ ।

प्रधानमन्त्री ओलीको १३ वर्ष अघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरलाई पनि बोलाइएको छ । तर उनीहरुले सहयोग मात्रै गर्ने र प्रत्यारोपणको काम नेपाली डाक्टरहरुले नै गर्ने अस्पातलले जनाएको छ ।उहाँलाई भान्जी नाता पार्ने समीक्षा संग्रौलाले मिर्गौला दिन लाग्नुभएको हो । बिहान ९ बजे आसपासमा सुरु गरिने मिर्गौला प्रत्यारोपण गर्न झण्डै चार घण्टा लाग्ने अस्पतालले जनाएको छ । यसैबीच पछिल्लो समय नेपालमा मिर्गौला प्रत्यारोपण ९८ प्रतिशत सफल भएको पाइएको छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेले नेपालमा यस अघि दोश्रो पटक मिर्गौला प्रत्यारोपण गराएका १० जना सबैको शल्यक्रिया सफल भएको र समग्रमा ९८ प्रतिशत प्रत्यारोपण सफल भएको भन्दै प्रधानममन्त्रीको उपचार सफल हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालमै मृगौला प्रत्यारोपण गराउन लाग्नुभएको भन्दै डाक्टर तथा नागरिकहरुले खुशी व्यक्त गरेका छन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना नेपालमै उत्पादित रोग नभएको प्रष्ट पार्दै बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने बताउनुभयो । डा देवकोटाले शुक्रराज ट्रपिकल, पाटन अस्पताल र सशस्त्रमा शय्या तयारी अवस्थामा राखिएको बताउनुभयो । त्यस्तै, काठमाण्डौ उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा राखिएको उहाँले स्पष्ट पार्नुभयो ।