Tuesday, 29, September, 2020 info@saipalnews.com

नारायणकाजी ६ वर्षपछि संसद् छिरेको पल

काठमाडौँ २१ फागुन । पहिलो दुई वर्षे कार्यकाल सकेर १८ जना राष्ट्रिय सभा सदस्य बाहिरिएसँगै ती ठाँउमा नयाँ अनुहार प्रवेश गरेका छन् । नयाँ अनुहार सबैले बुधबार शपथ लिएका छन् । संघीय संसद्को उपल्लो सदनमा पसेका १८ मध्ये सबैभन्दा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ । उनी सत्तारुढ नेकपाका नौ सदस्यीय सचिवालयका सदस्य र पार्टी प्रवक्तासमेत हुन् ।उनले नेकपा प्रचार विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालिरहेका छन् । श्रेष्ठले यसअघि उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको समेत जिम्मेवारी पूरा गरेका छन्। श्रेष्ठ माघ ९ मा भएको राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेश अन्य समूहबाट निर्वाचित भएका थिए।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन–२०७५ अनुसार ३५ दिनभित्र निर्वाचन गर्नुपर्ने भएपछि माघ ९ गते राष्ट्रिय सभाको निर्वाचन भएको थियो। जसमा नेकपाका छैठौँ वरीयतामा रहेका नेता श्रेष्ठ गण्डकी प्रदेशबाट ३ हजार ४ सय ६२ मत ल्याउँदै राष्ट्रिय सभामा निर्वाचित भएका थिए।राष्ट्रिय सभाका १८ जनामध्ये नेकपाका १६ र राजपाका दुई सदस्य विजयी भएका छन्। प्रदेश २ मा नेकपा र राजपाबीच तालमेल भएको थियो। श्रेष्ठसँगै नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुसाल पनि राष्ट्रिय सभा पसेका छन्।

तर, पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहे पनि श्रेष्ठलाई ६ वर्षपछि मात्रै संसद् प्रवेशको मौका मिलेको छ। लगातार दुई पटक प्रत्यक्ष निर्वाचनमा हार खाएका श्रेष्ठ पछिल्लोपटक राष्ट्रिय सभा प्रवेशको सजिलो बाटो मार्फत संसद् प्रवेश गरेका हुन्।बुधबार सांसदको शपथ लिएपछि बैठकमा बोल्दै श्रेष्ठले लोकतन्त्रको अभ्यास गर्ने थलो राष्ट्रिय सभा भएको हुँदा त्यसको मर्मलाई आत्मसात् गर्दै नेतृत्व गर्ने, परिपक्वता र विभेदको संसद्को परीक्षणबाट पुष्टि गर्ने र संघीयताको रक्षाका लागि विशेष भूमिका निर्वाह बताएका छन्।

२०७४ को चुनावमा श्रेष्ठ गोरखा–२ बाट चुनावी मैदानमा उत्रेका थिए। तर, वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ तत्कालीन नयाँ शक्तिका संयोजक डा।बाबुराम भट्टराईसँग पराजित भएका थिए। वामगठबन्धनले देशभर जबरजस्त जित निकाल्दा पनि गोरखा–२ मा चुनाव हारेपछि श्रेष्ठको संसद् प्रवेशको ढोका बन्द भएको थियो।

त्यसअगाडि पनि श्रेष्ठले २०७० को चुनावमा हारको सामना गर्नुपरेको थियो। ०७० मा पुनः संविधानसभाको निर्वाचन हुँदा मकुवानपुर–३ बाट उम्मेदवार बनेका श्रेष्ठ तत्कालीन एमाले उम्मेदवार सुवासचन्द्र ठकुरीसँग पराजित भएका थिए। यो हारले पनि संसद् प्रवेशको उनको चाहनामा ‘ब्रेक’ लगाएको थियो।

लामो समय भूमिगत र अर्धभूमिगत राजनीति गरेका श्रेष्ठले पहिलोपटक २०६४ मा संसद् प्रवेशको मौका पाएका थिए। त्यसबेला उनी संविधानसभामा मनोनीत सदस्यका हैसियतमा प्रवेश गरेका थिए। संविधानसभामा रहँदा उनी दुईपटक मन्त्री भएका थिए।नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत संसद्‍मा ल्याउने चर्चासँगै चुनावी हारपछि केहीसमय शान्त बसेका श्रेष्ठले पनि संसद् प्रवेशको चाहना शीर्ष नेताहरुबीच व्यक्त गरेका थिए। तर, उपयुक्त समय र परिस्थिति निर्माण भइसकेको थिएन।

जब राष्ट्रिय सभाका एक तिहाई सदस्यको कार्यकाल फागुन २० मा सकिने निश्चित भएपछि नेकपाले सचिवालयका दुवै सदस्य गौतम र श्रेष्ठलाई संसद् पठाउने योजना बनायो।नेता गौतमले राष्ट्रिय सभा सदस्य बन्न राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधनको सर्त राखे। उनको सर्त नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मानेनन्।

तर, पुस १९ को सचिवालय बैठकमा भने श्रेष्ठले राष्ट्रियसभामा पठाउने अध्यक्षद्वय ओली र पुष्पकमल दाहालको प्रस्ताव स्वीकारे। त्यसबेला ओली र दाहाल दुवैले राष्ट्रिय सभामा जान गौतम र श्रेष्ठलाई प्रस्ताव गरेका थिए।श्रेष्ठ संसद् पसेसँगै नेकपामा अब उपाध्यक्ष वामदेव गौतमबाहेक सचिवालयका सबै सदस्य संघीय संसद्का सदस्य भएका छन्। श्रेष्ठजस्तै गृहमन्त्रीसमेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापा पनि राष्ट्रिय सभाका सदस्य हुन्।

नेकपा सचिवालयले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गराउने निर्णय गरेपनि प्रधानमन्त्रीले यसलाई कार्यान्वयन गर्न ढिलाइ गरेपछि गौतमको राष्ट्रिय सभा प्रवेशको ढोका अझै खुलेको छैन।पछिल्लोपटक गौतम संविधान संशोधनको सर्त थाती राखेर राष्ट्रिय सभा प्रवेशका लागि तयार भएका थिए। तर, नाटकीय रुपमा गौतमले निर्णय बदलेकोमा प्रधानमन्त्री ओलीको आंशका छ। यसलाई उनले आफूविरुद्धको घेराबन्दीसमेत भनेका छन्।

कुनै समय पार्टीभित्र विपक्षी नेताजस्तो देखिने श्रेष्ठ राष्ट्रिय सभाको चुनाव आसपाससँगै सरकार र पार्टी नेतृत्वको विरोधमा सार्वजनिक रुपमा बोलेका छैनन्। कुनै बेला पार्टी नीतिविपरीत डा। गोविन्द केसीको अनसनमा गएको भन्दै श्रेष्ठसँग स्पष्टीकरणसमेत मागिएको थियो।अहिले नेकपा संसदीय दलको नेता दीनानाथ शर्मा छन्। श्रेष्ठ र गौतम भन्दा पार्टी संगठनमा शर्मा ‘जुनियर’ छन्। दलको नेता हुँदा तलब–भत्ता, गाडी, आवास र सञ्चारको सुविधा पाइन्छ। श्रेष्ठले यसमा चासो राखे भने शर्माको पद धरापमा पर्न सक्छ।