Saturday, 28, November, 2020 info@saipalnews.com

कर तिर्न सास्ती, सोध्यो भने कर्मचारी बोल्दैनन्

धनगढी २३ फागुन । सुदूरपश्चिमस्थित पाँच जिल्लाका करदाता अहिले पनि कर तिर्न धनगढी आउनुपर्ने बाध्यता छ । कैलाली, डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाका करदाता कर तिर्न धनगढी आउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन ।धेरै टाढादेखि आए पनि करदाताले सजिलो तरिकाले कर तिर्ने सुविधा अझै पाउन सकेका छैनन् । धनगढीमा रहेको आन्तरिक राजस्व कार्यालयमा कर तिर्न आउने प्रायः करदाताको एउटै गुनासो हुने गर्छ– देशमा जुनसुकै शासन आए पनि कर्मचारीको व्यवहारमा परिवर्तन आएन ।

करदाता मात्रै होइन, लेखापरीक्षकको अनु्भव पनि यस्तै छ । धनगढीका एक लेखापरीक्षकका अनुसार कर तिर्न जाने सेवाग्राहीको गुनासो हुन्छ– कर कार्यालयका कर्मचारीले किन हामीलाई जरिवाना तिर्न आएका अभियुक्त वा अपराधीलाई जस्तो व्यवहार गर्छन् ।

बाख्रापालनसम्बन्धी फर्मको पान नम्बर लिन कर कार्यालय आउनुभएका कैलाली गौरीगङ्गा नगरपालिका–१० का उद्धवसिंह धामीले भन्नुभयो, “कुनै कुरा सोध्यो भने कर्मचारी बोल्दैनन् । कर्मचारीले कुनै उपाय नबताएपछि बाध्य भएर आन्तरिक राजस्व कार्यालयको पर्खालबाहिर रहेका करसम्बन्धी लेखापढी गर्ने व्यक्तिको सहारा लिएर काम गरेँ । ” यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।