Saturday, 28, November, 2020 info@saipalnews.com

माथिल्लो तामाकोसी जलविद्युत अन्तिम चरणमा

दोलखा २४ फागुन । स्वदेशी लगानीले निर्माणाधिन ४५६ मेगावाट विद्युत क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।बहुप्रतिक्षित उक्त आयोजनाको काम सम्पन्न गर्न त्यहाँ कार्यरत कर्मचारीहरु अन्तिम दिनहरुमा संघर्ष गरिरहेका छन्। ठूलै विपतको सामाना गर्नु नपरे आयोजनाबाट अबको तीन महिनामा ७६ मेगावाट विद्युत उत्पादन भइसक्छ।

‘त्यसपछि क्रमश विद्युत उत्पादनका मेगावाटहरु थपिँदै जान्छन,’ आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठ भन्छन्, ‘अब भने यो आयोजनाबाट बिजुली उत्पादनका लागि थप दिन कुर्नुपर्ने छैन।’

तामाकोसी आयोजनाले समय तालिकाका दृष्टिकोणबाट भने आफ्नो विश्वासनीयता गुमाइसकेको छ। पटकपटक आयोजनाको सम्पन्न हुने मिति विभिन्न कारण देखाउँदै सरिसकेको छ। अहिले भने त्यस्तो नहुने र आउने असारसम्म परीक्षण सकेर विद्युत उत्पादन हुनेमा ढुक्क हुन सकिने तथ्य–तथ्यांकसहित आयोजना प्रवक्ता गणेश न्यौपाने दाबी गर्छन्।

तिब्बती सिमावर्ती सिमाना र अन्य वपरपरका अग्ला पहाडले घेरिएका लामा बगरमा उभिँदा आयोजनाको सबै कार्य पूरा भइसकेको जस्तो लाग्छ। जलाशय भण्डार बाँध र सुरुङका कार्य सकिएका छन्। पानी पसाएर परीक्षण गर्न बाँध र सुरुङ तयार छन्। तर, काम ठाडो सुरुङमा अड्किएको छ। उक्त कार्यको जिम्मा लिएको भारतीय निर्माण कम्पनी टेक्सम्याकोले धोका दिएकाले अन्तिम अवस्थामा आयोजनाले थप कार्यअवधि लम्ब्याउनु पारेको देखिन्छ।

कतिपयले आयोजनाका कामहरु ढिला गराउनुमा कर्मचारी जिम्मेवारकै हात छ भनेर आरोप पनि लागिरहेका छन्। भर्खरै आयोजनास्थलका क्रियाकलाप हेर्दा अन्तिम बाँकी कामहरु सम्पन्न गर्न कर्मचारी निकै मिहेनतपूर्वक सक्रिय देखिन्छन्। ठूलादेखि निम्न तहका कर्मचारीहरु संघर्षको मैदानमा उत्रिएका सिपाहीझैं जुटिरहेका छन्। ‘कतिपयले प्रश्न गरिरहेको कोरोना भइरसको असरले तामाकोसी आयोजनालाई प्रभावित गरेको छैन र काम रोकिने पनि छैन,’ कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठ बताउँछन्।

उक्त आयोजनाको प्रशासनिक प्रतिवेदनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बारम्बार उपस्थिति भएको देखिन्छ। कार्यकारी अधिकृत, आयोजना प्रमुख, प्रमुख प्रशासक, प्रबन्धक, उपप्रबन्धकहरुका विज्ञ समूहको उपस्थिति सुरुङभित्रै केन्द्रित छ। प्राविधिक रुपले अप्ठ्यारो र जटिल मानिएको र निर्माण कम्पनीका कारण कार्यप्रगति सुस्त भएको ठाडो सुरुङमै सम्पूर्ण शक्ति केन्द्रित देखिन्छ।

हाल राष्ट्रिय गौरवको यो आयोजना ९९ दशमलव ४ प्रतिशत काम सम्पन्न भइसकेको भनिएको छ। हेडवर्क्सका प्रायः कार्य सम्पन्न भइसकेको छ। सुरुङ, भूमिगत विद्युतगृह, ट्रान्सफर्मरका कार्य पनि सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

विद्युत उत्पादन सुरु हुने मिति जति ढिला भयो बैंक ऋणको ब्याजका कारण त्यति नै आयोजनाको लागत महँगो पर्दै जान्छ। ढिला कार्य गर्ने टेक्सम्याकोले गर्दै गएको काममा अर्को कम्पनीलाई पनि सहभागी गराएपछि प्रगति चित्तबुझ्दो भएको आयोजनाको दाबी छ। उक्त कम्पनीका कारण आयोजनाले केही काम गर्ने समय तालिका गुमाएको थियो।

हालसम्मकै पहिलो ठूलो नेपाली लगानीको उक्त परियोजना तामाकोसीको तरंग नेपालभित्र र बाहिरसम्म परिरहेको छ। नेपाली गौरवको यो आयोजना निर्धारित समयमा सम्पन्न गर्न सबैभन्दा पहिले लगानी जुटाउने कार्य नै बाधक बनेको थियो। सुरुका दिनमा ३५ अर्ब २९ करोड स्वदेशी पुँजी जुटाउन निकै कठीन परेको थियो। स्वेदशी लगानी जुटाउन नदिने खेलमा देशभित्र र विदेशी कम्पनीहरुले प्रभावित पारेको घटना आयोजनाका पूर्वप्रमुख मिर्गेन्द्रबहादुर श्रेष्ठले आफ्ना लेखहरुमार्फत जानकारी दिएका छन्।

लागत जुट्ने तयारी भएपछि आयोजना बन्ने कुरामा सरकारका मन्त्री र राजनीतिक क्षेत्रबाटै अनविश्वासहरु प्रकट भए। तत्कालीन मन्त्रीहरुले दोलखाको विभिन्न कार्यक्रमहरुमा तामाकोसीका लागि देशभित्रको ३५ अर्ब पुँजी जुट्‍नु परको कुरा भनेका कुराहरु सञ्चारमाध्यममा आएका छन्। विदेशी लगानी ल्याउनैपर्ने जोड दिएर भाषण गरिएका थिए।

आयोजनाको कामसँग अन्तर्राष्ट्रिय सम्बन्ध जोडेर हेर्नेहरु पनि छन्। तिब्बती सिमाबाट ६ किलोमिटरमात्रै नेपाली भूमिमा निर्माण भइरहेको आयोजनाका कामदेखि अन्यत्र सम्बन्धमा चिनियाँ चासो र सहभागिता पनि भइरहकै छ। नेपालको पहिलो निजी लगानीको खिम्ती जलविद्युत आयोजनामा लगानी गर्ने नर्वेजियनहरुका इच्छाहरु तामाकोसीको पानीमा घुलन भइरह्यो।

कतिपय केन्द्रहरुमा उक्त आयोजना सञ्चालन गर्नु पाउनुपर्ने प्रभावहरु नर्वेजियन कम्पनीले सुरुका दिनमा पार्न खोजेका आयोजनाका पूर्वकर्मचारीहरु बताउने गर्छन्।

केही समय त आयोजना स्वदेशी कि विदेशी लगानीले निर्माण गर्ने दुविधाको चक्करमा घुमिरह्यो। स्वदेशी लगानीमै आयोजना निर्माणको पक्का भएपछि प्रवेश सडकमार्ग निर्माण र स्तरवृद्धिमा समस्या थपियो। प्रवेशमार्ग ६८ किलोमिटर सडकले आयोजनालाई मुद्दा मामलामा फसायो। अदालतका आदेशले ठूलो रकम आयोजनाले क्षतीपूर्ति तिर्‍यो। ढिलासुस्तीका दिन र समय गन्दा करिब दुई वर्ष आयोजना पछि धकेलिनुमा सडक पनि कारक छ।

आयोजनालाई केही पछि धकेल्ने दोष आन्दोलनहरुलाई पनि जान्छ। राजनीतिक तहबाट, स्थानीय तहबाट र मजदुरको लामो अवरोध र हडतालको सिकार उक्त आयोजना परेको थियो। हडताल र अवरोधले आयोजनाले व्यर्थमा समय खेर फाल्दै गयो। साथै, विभिन्न देखिने नदेखिने कामका लागि आयोजनाले मूल्य चुकाउँदै पनि गयो।

आन्दोलनको चपेटाकैबीच २०७२ साल वैशाख १२ पछि लगातार आइपरेको ठूलाठूला भूकम्पले आयोजनालाई अर्को डेढ वर्षजति पछि धकेल्यो। तयारी हालतमा पुग्न लागेको बाँधस्थल केही भासिनु र केही अवधि काम ठप्प हुनुले आयोजनालाई भौतिक, आर्थिक र समयमा क्षति पुर्‍यायो। त्यस वर्ष आएको अकल्पनीय बाढीले पनि आयोजनालाई अर्को क्षतिको तहमा धकेल्यो। हरेक दोलखाली नागरिकलाई सेयर दिन प्रक्रिया, आधिकारका लागि गरिएका आन्दोलनले पनि आयोजनाको काम पछि सर्दै जानमा भूमिका निर्वाह गर्‍यो।

आयोजनाको ढुवानी हुने प्रमुख मार्ग लामोसाँघुदेखि चरिकोटसम्मको सडक हालसम्म खराब अवस्थामा छ। ठूल्ठूला तौलका समान ढुवानीमा उक्त मार्ग तयारी नहुँदा आयोजनाले क्षती व्यहोर्न परिरहेकै छ। उक्त सडकको ठेक्का पनि भारतीय कम्पनीकै हुनु, यता तामाकोसीमा भारतीय कम्पनी टेक्सम्याकोले अनावश्यक ढिला गर्नु पछाडि जलराजनीतिलाई जोडेर विश्लेषण गरिएका दस्तावेजहरु सार्वजनिक छन्।

नेपाली लगानी र दक्षतामा पहिलोपटक ठूलो जलविद्युत आयोजना अघि बढाइएकाले आयोजनाले अनभिज्ञतामै प्राविधिक तथा आर्थिक क्षति व्यहोर्नु परेका आरोप पनि लाग्ने गरेका छन्। समयमा कार्य सम्पन्न नहुँदा थपिँदै गएको ऋणको ब्याज, डलरको मूल्यवृद्धि, महँगीलगायतको कारणले आयोजनाको लागत वृद्धि हुँदै गएको विश्लेषण आयोजना कम्पनीको छ।

यस्ता अनेक कठिन र जोखिम दिनहरु पार गर्दै आएको आयोजनामा पछिल्ला दिनहरुमा भने ठेकेदार कम्पनी समस्या बनिरहेको छ। उक्त चुनौतीका दिनहरु पार गर्दै अघि बढेको आयोजना अब सम्पन्न तहमा पुगेको छ। किनकी, आयोजनाका कतिपय कर्मचारीहरु उद्घाटनको तयारीका बारेमा सोचिरहेका छन्। यो समाचार कान्तिपुर दैनिकमा छ ।