Saturday, 28, November, 2020 info@saipalnews.com

उखु अभावले चिनी मिल बन्द

रौतहट २५ फागुन । किसानको दबाबपछि सञ्चालनमा आएको रौतहटको गरुडा नगरपालिकास्थित श्रीराम सुगर मिल उखु अभावले बन्द भएको छ । समयमै किसानसँग खरिद गर्न नसक्दा मिलले उखु अभाव खेप्‍नुपरेको हो । एक सिजनमा २५ लाख क्विन्टल क्रसिङ गर्ने क्षमता रहेको मिलले यसपालि ६८ हजार क्विन्टल उखु मात्र क्रसिङ गरेको छ ।

उखु अभावकै कारण मिलले यसपालि चिनी उत्पादन गर्न सकेन । पुरानो भुक्तानीमा विवाद भएपछि मिल खुल्न ढिलाइ भएको थियो । गत माघ २९ गतेदेखि सञ्चालन गरिएको मिल २४ घण्टै चलाउनुपर्नेमा उखुका अभावले मुस्किलले आठ घण्टा चलेको थियो ।

किसानले टायरगाडामा ल्याएको उखु संकलन गर्दै बेलाबेलामा रोकेर चलाउनुपरेको मिलका प्रतिनिधि श्यामनन्दन यादवले बताए । ‘सिजन सुरु हुनासाथ मिल चल्नुपर्थ्यो । त्यसो हुन सकेन,’ उनले भने, ‘उखु अभावले यो सिजन पनि निकै घाटा बेहोर्नुपर्‍यो ।

प्रत्येक वर्ष मंसिर अन्तिम र पुस पहिलो साताबाट मिल सञ्चालन हुन्थ्यो । यसपालि ढिलो सञ्चालन हुँदा किसानले महोत्तरी, सर्लाही, बारालगायत जिल्लाका मिललाई उखु बेचिसकेका थिए । केही उखु कटहरियामा सञ्चालनमा रहेको नयाँ चिनी मिललाई दिएका थिए ।यो समाचार कान्तिपुर दैनिकमा छ ।