Tuesday, 29, September, 2020 info@saipalnews.com

५ तले होटल भत्कियो ४ को मृत्यु

एजेन्सी २५ फागुन । दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किएको छ ।सो होटलको पाँचतले भवन भत्किँदा ४ जनाको ज्यान गएको चिनियाँ अधिकारीहरूले बताएका छन् । च्वान्जू नगरस्थित उक्त होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना फसेको बताइएको थियो ।

तीमध्ये ४७ जनालाई बाहिर निकालिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । बाहिर निकाल्न नसकिएकामध्ये ४ मृतक भेटिएका छन् । अझै भग्नावशेष मानिसहरू फसिरहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।घटनास्थलमा खिचिएको भिडिओमा उद्धारकर्ताहरूले खोजी गरिरहेको देखिन्छ । सुविधासम्पन्न मानिएको सो पाँचतले होटल भत्कनुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।